क्रिकेटमय वर्ष, फुटबलमा पलायनको रोग, अन्य खेल कस्तो रह्यो ? [भिडियाे]

क्रिकेटमय वर्ष, फुटबलमा पलायनको रोग, अन्य खेल कस्तो रह्यो ? [भिडियाे]


केही खुसी, केही निराशा, केही सफलता र केही असफलताका वास्तविक कथाहरूलाई इतिहासको दस्तावेज बनाउँदै वर्ष २०८१ बिदा भएको छ । तथ्यांकको तराजुमा राख्ने हो भने बितेको वर्षले पनि नेपाली खेलकुदलाई खुसीभन्दा धेरै निराशा दिएको छ । सफलताको मातभन्दा धेरै असफलताले टाउको दुखाएको छ । संगठित भएर काम गर्नुको साटो विवादका अनेकौं केस्रा थपिदिएको छ । उपलब्धिभन्दा बढी बेवास्ता थपिएको वर्ष बनेको छ, जहाँ खेलाडी अनुशासन, समर्पण र मेहेनतको बलमा अगाडि बढ्न चाहन्थे, त्यहीं जिम्मेवार निकायहरूले उनीहरूको बाटो छेक्दै आए । नेतृत्वले नीति, योजना र दीर्घकालीन सोचभन्दा पद र प्रभावको राजनीति खेलिरहँदा, खेलाडीहरूको सपना अधुरो बन्दै गएको छ । त्यसैले २०८१ साल नेपाली खेलकुदले अवसर गुमाएको र नेतृत्वले खुसी खोसेको वर्षका रूपमा सम्झिनेछ ।

यो वर्ष नतिजाका आधारमा समग्र खेलकुद क्षेत्र केही सुखद् रह्यो भने केही दुःखद् पनि रह्यो । तर वर्षभरि नै नेपालले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाई नै रह्यो । तर अर्कोतर्फ यो वर्ष हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति भने तीन पटक सर्‍यो। जुन अझैं पनि सञ्चालन हुने छनक देखिएको छैन ।

क्रिकेट

वर्ष २०८१ समग्र रुपमा क्रिकेटमय नै रह्यो भन्दा अतिश्योक्ति नहोला । यहि वर्ष नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न सफल भयो । एक दशकअघि हाल क्यानका सचिव तर तत्कालिन नेपाली क्रिकेटका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशको घरमा खेलेको थियो । उक्त सहभागिताको ठिक एक दशकपछि नेपालले मोन्टी देशाईको नेतृत्वमा तथा रोहित पौडेलको कप्तानीमा अमेरिका र वेष्ट इन्डिजद्धारा संयुक्त आयोजना गरिएको विश्वकपमा नेपालले आफूभन्दा बलिया टिम दक्षिण अफ्रिका र बंगलादेशलाई बलियो चुनौती दिएको थियो ।

यस वर्ष नेपालमा क्रिकेटको जति चर्चा अन्य खेलको भएन। किन भने नेपाल क्रिकेट संघ क्यानले यसै वर्ष आयोजना गरेको नेपाल प्रिमियर लिग(एनपिएल)ले घरेलु क्रिकेटको माहोल नै तात्यो । विश्व क्रिकेटमा नाम चलेका क्रिकेटरहरुको सहभागिताले यस प्रतियोगिताले अझ बढी चर्चा बटुल्यो । यस्तै, ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरुले पनि अनुभव बटुल्ने मौका पाए ।

८ टोली सहभागी पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो। पहिलो संस्करणको एपीएपलबाट क्यानले पनि निकै राम्रो आम्दानी गर्यो । प्रतियोगिताले पाएको सफलताले गर्दा प्रतियोगिता र टीमको ब्रान्ड भ्यालु नै बढेको लगानीकर्ताको भनाई छ। यसका साथैं नेपालले यस वर्ष पुरुष दृष्टिबिहिन टी–२० विश्वकप क्रिकेटमा पनि सहभागीता जनायो । लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराउनै सफल भयो ।

उमेर समूहअन्तर्गत नेपाललको युवा क्रिकेट टोली एसीसी यू–१९ एसिया कपमा सहभागी जनाएता पनि उत्कृष्ट नतिजा भने हात पार्न सकेन । यसका साथैं गतवर्ष नेपालले मलेसियामा भएको दोस्रो संस्करणको आईसीसी यू–१९ महिला टी–२० विश्वकप पनि खेल्यो। नेपाली महिला टीमले कुनै पनि स्तरको विश्वकप खेलेको यो नै पहिलो पटक थियो। पहिलो पटक सहभागिता जनाएको नेपालको यात्रा भने सुखद रहेन । किनकी नेपालले समूह चरण पनि पार गर्न सकेन।

सिनियरतर्फ महिला त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालमा नै आयोजना भयो। नेपाल, थाइल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको उपाधि थाइल्यान्डले जित्यो । घरेलुतर्फ क्यानले आयोजना गरेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जित्दा, प्रधानमन्त्री कप एकदीवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्न सफल भयो। योसँगै आईसीसीले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ को अवार्ड नै प्रदान गर्यो । वर्षभरि डिजिटल प्लेटफर्ममा नेपाली फ्यानको संख्यामा ४०० प्रतिशतले वृद्धि भएकाले आईसीसीले नेपाललाई यो पुरस्कार दिएको हो।

त्यस्तै, वर्षको अन्त्यमा क्यानले नयाँ प्रशिक्षकका रुपमा पूर्व अस्ट्रेलियन प्लेयर स्टुअर्ट ल’लाई अनुबन्ध गरेको छ । मोन्टी देसाईको प्रशिक्षणमा नेपाली टोलीले एकपछि अर्को खराब प्रदर्शन गर्न थालेपछि क्यानले नयाँ प्रशिक्षकका रुपमा स्टुअर्टलाई अनुबन्ध गरेको हो ।

फुटबल

यस वर्ष साफ महिला च्याम्पियनसिपको सातौं संस्करण नेपालले नै आयोजना गर्यो । घरेलु भूमिमा भएको प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्ने अवसर नेपाललाई थियो । तर त्यसो हुन सकेन । फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुन पुग्यो ।

यस्तै, काठमाडौंमा आयोजित चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा पनि नेपाल दोस्रो भयो । नेपाल फाइनलमा म्यानमारसँग २–० ले पराजित भयो । यो हार अहिलेसम्म नेपालले पराजित भएको १३औं फाइनल हो । नेपाल साफका ६ पटक, दक्षिण एसियाली खेलकुद सागमा ३ पटक तथा हिरो वुमन्स गोल्डकप, नादेज्दा कप, वाफ वुमन्स च्याम्पियनसिप र इन्टरनेसनल वुमन्स च्याम्पियनसिपमा एक–एक पटक फाइनलमा पराजित भएको छ ।

फुटबलमा पुरुषतर्फ एएफसी एसियन कप २०२७ को छनोट चरणअन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भयो । घरेलुतर्फ भने एन्फाले दुई वर्षपछि एन्फा महिला लिग आयोजना गर्यो । सो लिगको उपाधि नेपाल एपीएफ क्लबले जित्यो ।

वर्ष २०८१ मा नेपाली फुटबलले खासै राम्रो नतिजा हात पार्न सकेन । चेन्ज एन्फाको नारा लिएर पंकविक्रम नेम्वाङ्ग नेतृत्वमा अखिल नेपाल फुटबल संघको नयाँ समिति चुनिएको झन्डै तीन वर्ष हुन लागिसक्यो । तर, एन्फा फुटबल गतिविधि गर्न छोडेर आन्तरिक विवाद मै अल्झिरहेको छ । घरेलु लिग समेत नहुँदा खेलाडीमा निराशा छाएको छ । फुटबलबाट जीवन निर्वाह गर्न नसकिने भन्दै थुप्रै राष्ट्रिय खेलाडीहरु विदेशिएका छन्। सोही कारण घरेलु लिग तथा राष्ट्रिय टोलीको प्रदर्शनमै असर पुग्यो।

त्यस्तै एन्फा भित्रका आन्तरिक विवाद र असहमतिहरूले संघको कार्यसम्पादनमा प्रभाव पार्यो। यसै वर्ष फिफा वरीयतामा नेपाल तीन स्थान माथि उक्लियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भए।

यसैगरी २०८१ नेपाली फुटबल इतिहासको कालो दिन पनि बन्न पुग्यो । गत असोज १२ गते मकवानपुरको सिस्नेरीमा रहेको बत्सलादेवी माविमा प्रशिक्षणरत ६ बालबालिकाले एन्फाको लापरबाहीका कारण ज्यान नै गुमाए । पहिरोको उच्च जोखिममा रहेर पनि उनीहरूलाई सुरक्षित स्थानमा सार्न कुनै प्रयास नगरिएपछि यस्तो दुःखद घटनाको साक्षी बन्यो २०८१ । पूर्व सूचना दिएर कुलेखानी जलविद्युतले सावधानी अपनाउन आग्रह गरे पनि एन्फा बेखबर नै रह्यो। प्रशिक्षार्थी बालकहरूको मृत्युपछि थुप्रै प्रश्नहरू उठेता पनि अहिलेसम्म सम्बन्धित निकाय भने मौन बस्यो ।

भलिबल

काभा महिला भलिबल नेसन्स लिग गत साउनमा नेपालमै भएको थियो । सेन्ट्रल एसियाको महत्त्वपूर्ण प्रतियोगितामा नेपाल फाइनलसम्म पुगेता पनि फाइनलमा भने भारतसँग पराजित हुँदै रजत पदकमै चित्त बुझाउन बाध्य रहयो ।

पुरुष भलिबल कमजोर भए पनि महिला भलिबलमा यो वर्ष नेपालले दुई उपाधि जित्यो । पहिलो पटक भएको काभा महिला क्लब भलिबल नेपाल पुलिस क्लबले जित्यो । यो नेपाली भलिबलमा ऐतिहासिक उपलब्धि नै हो । यति मात्रै होइन नेपालले महिला काभा बीच भलिबलमा स्वर्ण पदक नै जित्यो । यो स्वर्ण कमला पुन र मनीषा चौधरीको जोडीले जितेको हो । पुरुषतर्फ भने नेपाल उपविजेतामै सिमित बन्यो ।

उमेर समूहतर्फ काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको डेब्यू सहभागीतामै नेपालले कास्य पदक जित्न सफल भयो । माल्दिभ्समा भएको खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएपछि कास्यमै चित्त बुझाउनु पर्यो । उता, श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भयो । नेपालले फाइनलमा उज्वेकिस्तानसँग हार व्यहोर्यो। यस्तै, एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा आयोजना भयो । ६ टोली सहभागी प्रतियोगिताको उपाधि कर्णालीले जित्यो ।

वर्षको अन्तिमतिर सरकार र नेपाल ओलम्पिक कमिटीबीचको विवादले खेलकुद प्रशासन अस्तव्यस्त रह्यो । चार खेल संघलाई सदस्यता नदिई नेपाल ओलम्पिक कमिटीले अवैध निर्वाचन गरेको सरकारको आरोप छ । उसले अदालतको आदेश अवज्ञा गरेर पहिलो विशेष साधारण सभा ग¥यो । त्यसपछि जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित हुनकै लागि अनलाइनमा निर्वाचन गराएको सरोकारवालाको आरोप अझैसम्म कायम छ ।

यो निर्वाचन पनि नगराउन अदालतको आदेश थियो, जुन अवज्ञा भयो। तर अहिले ओलम्पिक काउन्सिल अफ एसियाले यो विवाद मिलाउने जिम्मेवारी पाएको छ । यही विवादका कारण अहिलेसम्म १४ औं दक्षिण एसियाली खेलकुदमा सहभागिताबारे नेपालले निर्णय गर्न सकेको छैन। नव वर्ष २०८२ सुरुवातसँगै यो विवाद समाधान हुने अपेक्षा गरिएको छ । यदि यो विवाद यथाशीघ्र समाधान नभएमा नेपाली खेलकुदको दुर्भाग्य नै हुनेछ । किनभने आसन्न १४औं दक्षिण एसियालीलगायत अन्य अन्तर्राष्ट्रीय प्रतियोगितामा नेपालको सहभागितालाई लिएर यो विवादले अन्योल सिर्जना गर्ने पक्का छ।

यसका साथैं गत माघ पहिलो साता भारतको नयाँ दिल्लीमा भएको खोखो विश्वकपमा नेपाली पुरुष र महिला दुबै टोली उपविजेता बने। यो नेपालका लागि निकै ठूलो उपलब्धि थियो । नेपालले फाइनलमा पुरुष र महिलातर्फ भारतसँग नै पराजित भएको थियो । तर अहिलेसम्म पनि सरकारले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल खेलाडीहरुलाई पुरस्कृत गर्न कन्जुस्याइँ गरिरहेको छ । वर्षको अन्तिममा नेपालमा खोखो खेलको फ्रेन्चाइज लिग समेत भयो । तर त्यसले भने खासै चर्चा पाएन ।

खोखोसँगैं कबड्डीमा पनि यो वर्ष दुई महत्त्वपूर्ण सफलता नेपालले प्राप्त गर्यो । नेपालले महिला एसियाली कबड्डी च्याम्यिनसिपमा काँस्य जित्यो । अर्कोतर्फ यो वर्ष नै पहिलो पटक पुरुषको फ्रेन्चाइज कबड्डी लिग पनि भयो । उक्त फ्रेन्चाइजको ट्रफी जनकपुर नाइट्सले जित्यो । उल्लेख्य मात्रामा विदेशी खेलाडी उपस्थित भएको लिगमा नेपाली खेलाडीले पनि राम्रो पारिश्रमिक पाएका थिए ।

समग्रमा नेपाली खेलकुदका लागि वर्ष २०८१ राम्रो नै रह्यो । प्रशिक्षण र वैदेशिक एक्सपोजरका हिसाबले पनि खेलाडीहरु व्यस्त नै रहे । सोही अनुसारको नतिजा पनि ल्याए। खेलकुदको सर्वोच्च निकाय एन्फा नै कुर्सीको लडाइँमा मग्न भएपछि खेलाडीलाई निराश मात्र पारेको छैन, पलायनका लागि समेत बाध्य बनाउँदै लगेको छ।

Logo