काठमाडौं । घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ ।
शनिबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो । यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।
नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब थियाे।
खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भनिएपनि वर्षाका कारण सुरु हुन सकेन । पछि वर्षा रोकिएपनि मैदान चिसो भएका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् । यसरी अंक बाँड्दा नेपाल र अफगानिस्तानबीच समान सात अंक भएपनि नेटरेनरेटका आधारमा नेपाल पछि परेको हो । नेट रन रेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो ।
३० यार्ड सर्कलभित्रको मैदान सबै सुकेपनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन् ।
त्यसअघि नेपालले समूहचरणमा युएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको थियो। नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । तर, यसपटक नेपालको पक्षमा मौसम रहेन र अफगानिस्तानले बाजी मार्यो । नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।































प्रतिक्रिया