नेपाल आइपुगे विश्वविजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

नेपाल आइपुगे विश्वविजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । ब्राजिलियन विश्वविजेता फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) हेर्न उनी नेपाल आएका हुन् ।

उनको शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम स्वास्थ्य अवस्थाका कारण सरेको थियो । स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं अवतरण गरेका हुन् । अब कार्लोसले एनएसएलमा बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।

लेफ्टब्याकका रुपमा विश्वमै कहलिएका कार्लोस सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा प्रमुख खेलाडी थिए । त्यसअघि सन् १९९८ को विश्वकपको फाइनल खेल्दा पनि उनी टोलीका लागि महत्वपूर्ण खेलाडी थिए। उनले प्रहार गरेको फ्रिकिक बलले घुमाउरो रूप लिँदै विपक्षी टिमको पोष्टको जाली चुमेको दृश्य फुटबलप्रेमीहरूले बिर्सन सक्दैनन्।

ब्राजिलबाट उनले तीन विश्वकप खेल्दै १२५ क्याप जितेका छन् भने १० गोल पनि गरेका छन् । आफ्नो व्यावसायिक करिअरको अधिकांश समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले ३७२ खेलमा ४८ गोल गरेका छन् ।

Logo