काठमाडौं । ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेकाे छ । आइतबार राति घरेलु मैदानमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेडलाई ४-३ गाेलअन्तरले पराजित गरेको हाे ।
खेलको १४ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ब्रेन्टफोर्डले २७औं मिनेटमा लुक शाको आत्मघाती गोलबाट बराबरी गर्यो। त्यसपछि ३३औं मिनेटमा केभिन शाडेले गोल गर्दै ब्रेन्टफोर्डलाई २-१ को अग्रता दिलाए।
दोस्रो हाफमा पनि गोलको वर्षा जारी रह्यो। ७० औं मिनेटमा शाडेले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३-१ ले अगाडि बढाए । त्यसको चार मिनेटपछि योएने विसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता ४-१ मा पुर्याए।
खेलको अन्तिमतिर म्यानचेस्टर युनाइटेडले दुई गोल फर्कायो । ८२ औं मिनेटमा गर्नाचोले उत्कृष्ट गोल गरे भने इन्जुरी समयको पाँचौं मिनेटमा अमाद डियालोले गोल गर्दै खेललाई ४-३ को स्थितिमा ल्याए। तर थप गोल हुन नसक्दा ब्रेन्टफोर्डले रोमाञ्चक जित दर्ता गर्यो।
यो जितसँगै ब्रेन्टफोर्डले युरोपामा छनोट हुने सम्भावनालाई जिवितै राखेकाे छ । नवाैं स्थानमा रहेकाे ब्रेन्टफोर्डले ३५ खेलमा ५२ अंक जाेडेकाे छ । यता म्यानचेस्टर युनाइटेड ३९ अंकसहित १५औं स्थानमा रहेकाे छ ।





























प्रतिक्रिया