भारतसँग तनाव बढेपछि पाकिस्तान सुपर लिगका बाँकी खेल यूएईमा हुने

भारतसँग तनाव बढेपछि पाकिस्तान सुपर लिगका बाँकी खेल यूएईमा हुने

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । पाकिस्तान र भारतबीच बढ्दो तनावका कारण पाकिस्तान सुपर लिग (पीएसएल)को दशौं संस्करणका बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएकाे छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एक विज्ञप्ति जारी गर्दै लिगका बाँकी आठ खेलहरूको मिति र स्थानहरू यथाशीघ्र आधिकारिक रूपमा घोषणा गरिने जानकारी दिएको हाे ।

बिहीबार रावलपिंडी क्रिकेट स्टेडियममा कराची किंग्स र पेशावर जाल्मीबीच हुने भनिएको खेल स्थगित गरिएको थियाे । स्टेडियम परिसरभित्र ड्रोन खसेपछि आकस्मिक बैठक बसेर खेल स्थगित गर्ने निर्णय गरिएको हो। उक्त बैठकमा पीसीबीका अध्यक्ष मोहसिन नक्वीले लिगमा सहभागी विदेशी खेलाडीहरूसँग छलफल गरेका थिए। खेलाडीहरूले लिगलाई यूएईमा सार्न अत्यधिक इच्छा व्यक्त गरेका थिए। साेही अनुसार बाँकी खेलहरु यूएईमा सारिएकाे हाे ।

सन् २०१६ मा पीएसएल यूएईबाटै सुरु भएको थियो र २०१७ को फाइनल बाहेक पहिलो दुई सिजनका सबै खेलहरू त्यहीँ खेलिएका थिए। सन् २०२१ मा कोरोनाभाइरस महामारीका कारण छैटौं सिजनको केही भाग पनि यूएईमा खेलाउनुपरेको थियो।

पीएसएलमा हुने कुनै पनि ढिलाइले पाकिस्तानको अन्तर्राष्ट्रिय क्रिकेट तालिकालाई पनि असर गर्न सक्ने बताइएकाे छ ।

Logo