आईपीएलको दबदबा तोड्न क्रिकेटमा पनि पैसाको खोलो बगाउँदै साउदी [भिडियाे]

आईपीएलको दबदबा तोड्न क्रिकेटमा पनि पैसाको खोलो बगाउँदै साउदी [भिडियाे]


काठमाडौं । फुटबलमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, ब्राजिलियन स्टार नेयमार जुनियर, फ्रान्सेली स्टार करिम बेन्जिमागायत चर्चित खेलाडी भित्र्याएर विश्वको ध्यान आफूतर्फ खिच्न सफल साउदी अरेवियाले क्रिकेटमा पनि आफ्नो साम्राज्य बनाउने लक्ष्यसहित विश्वकै सर्वाधिक महंगो फ्रेन्चाई क्रिकेट लिग सुरु गर्ने भएको छ ।

फुटबलमार्फत विश्व समुदायमा भिन्न पहिचान बनाउन सफल साउदीले अब विश्व क्रिकेटमा पनि भिन्न पहिचान स्थापित गर्न अर्बौ रुपैयाँ खर्च गरिरहेको हो । यसअघि साउदीले बक्सिङ, रेस्लिङ, र फर्मुला वन जस्ता खेलमा ठूलो लगानी गरेर सफलता हासिल गरिसकेको छ । साउदीले खेलकुदलाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउनुका साथै विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)लाई पछि पार्ने उद्देश्यले साउदीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको पश्चिमा मिडियाहरुले जनाएका छन् ।

साउदीले प्रारम्भिक चरणमा यो प्रतियोगिताका लागि मात्र ५ सय मिलियन अमेरिकी डलर खेलकुद बजेटबाट नै छुट्याउन लागेको छ। ‘ग्रान्डस्लाम टेनिस’को ढाँचामा खेलाइने उक्त प्रतियोगितामा आठवटा टोली सहभागी हुनेछन् । आयोजकका अनुसार वर्षभरी यी आठ टोलीले विभिन्न राष्ट्रमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि फाइनल भिडन्त भने साउदीमै गराइने छ। यस लिगमा पुरुषसँगै महिला क्रिकेट लिग पनि समावेश गर्ने साउदीको योजना छ ।

यो क्रिकेट लिग ग्ल्यामर, मनोरञ्जन र विश्वव्यापी सहभागितालाई ध्यानमा राखेर डिजाइन गरिएको कारण आईपीएल जतिकै वा सो भन्दा पनि लोकप्रिय हुने विश्वास साउदीले लिएको छ । यो फ्रेन्चाइज लिग साउदी सरकारको नेतृत्वमा हुनेछ ।

यो क्रिकेट लिगले आईपीएललाई आर्थिक र अन्तर्राष्ट्रिय दृष्टिकोणबाट ठुलो चुनौती दिने पक्का देखिन्छ । विशेषगरी ठूलो लगानी, विश्वव्यापी ढाँचा र महिला लिगको समावेशिता नै साउदी लिगको आकर्षणको मुख्य कारण मानिएको छ । साउदी र भारतबीचको यो लडाईंले क्रिकेटको विश्वव्यापी बजारलाई भने थप रोमाञ्चक र प्रतिस्पर्धी बनाउने पक्का छ ।

अर्कोतर्फ क्रिकेट मुख्य गरी दक्षिण एसिया, अष्ट्रेलिया, र इंग्ल्याण्डमा निकै लोकप्रिय खेलका रुपमा हेरिन्छ । सोही कारण साउदीले भारत, अष्ट्रेलिया, र इंग्ल्याण्डको सिन्डिकेट तोड्ने चुनौती देखिन्छ । सन् २००८ देखि सञ्चालनमा आएको आईपीएलको ब्रान्ड भ्यालू नै १ लाख करोड भारतिय रुपैयाँभन्दा बढी रहेको छ । जहाँ बलिउड, मनोरञ्जन, र भारतीय दर्शकको ठूलो हिस्सा रहेको छ ।

त्यति हुँदा–हुँदै पनि साउदी लिगले आईपीएल, बिग ब्यास लिग, र पीएसएल जस्ता फ्रेन्चाइज लिगहरूलाई पछाडि पार्ने दाबी गरिएको छ । साउदीको ठूलो लगानीले विश्वका शीर्ष खेलाडी, प्रशिक्षक, र प्रायोजकहरूलाई आकर्षित गर्ने पक्का छ । उच्च पारिश्रमिक र सुविधाले आईपीएलमा खेलिरहेका विदेशी खेलाडीको सहभागिता नै घटाउने सम्भावना पनि उत्तिकै रहेको छ । अर्कोतर्फ आईपीएल भारतमा मात्रै केन्द्रित रहेकाले साउदीको विश्वव्यापी लिगको अवधारणाले क्रिकेट लिगलाई विश्वव्यापी ब्रान्ड बनाउन सक्छ ।

अझ साउदीले यो लिगलाई विश्वस्तरीय बनाउन बलिउड वा हलिउडका सेलिब्रेटी ल्याउने, कन्सर्ट, र प्रचारप्रसार अभियानमा ठूलो लगानी गर्ने पक्का लक्ष्य लिएको छ, जसले आईपीएलको ग्ल्यामरलाई नै चुनौती दिनुका साथै छाँयामा नै पार्न सक्ने पनि उत्तिकै सम्भावना छ ।

यसैगरी साउदीले ‘भिजन २०३०’ नाम दिएर खेलकुद पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ । रियाद, जेद्दाह र दम्माममा क्रिकेटका लागि नै अत्याधुनिक मैदानहरू निर्माण भइरहेका छन् । यी मैदानहरूमा आधुनिक सुविधा, उच्च गुणस्तरको पिच, र दर्शकमैत्री संरचना हुनेछ ।

फिफा विश्वकप २०३४ का लागि प्रस्तावित क्यूएससी स्टेडियम र अन्य बहुउद्देश्यीय स्टेडियम पनि क्रिकेटका लागि प्रयोग हुन सक्छन् । यसका साथै साउदीले क्रिकेट प्रशिक्षण केन्द्र र एकेडेमीहरू स्थापनाका लागि अष्ट्रेलियाली र दक्षिण अफ्रिकाका विशेषज्ञहरूसँग सहकार्य गरिरहेको छ । यसले स्थानीय खेलाडी विकास र लिगको गुणस्तरमा पनि व्यापक सुधार आउने साउदीको विश्वास छ ।

साउदीको यति ठुलो महत्वाकांक्षी सपनामा तातो मौसम तगारोका रुपमा उभिएको छ । तर त्यसका लागि पनि साउदीले खेलका दौरान रंगशालाभरी कूलिंग प्रणाली अथवा राति प्रतियोगिता आयोजन गर्न सक्छ ।

साउदीले खेलकुदमार्फत आर्थिक लाभ लिनुका साथै पर्यटन, प्रायोजन, मिडिया अधिकार र टिकट बिक्री गरेर ठूलो राजस्व कमाउने लक्ष्य लिएको छ ।

साउदीको फ्रेन्चाइज क्रिकेट लिगले विश्व क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने सम्भावना बोकेको छ । ठूलो लगानी, विश्वव्यापी ढाँचा, महिला लिग र खेलकुदप्रतिको आशक्तिले आईपीएललाई पनि पछि पार्ने उच्च सम्भावना छ । तर, भारतीय खेलाडीको अनुपस्थिति, आईपीएलको स्थापित ब्रान्ड र साउदीमा क्रिकेटको सीमित लोकप्रियताले चुनौतीहरू भने पक्कै सिर्जना गर्न सक्छ । यदि साउदीको यो लिगले विश्वका शीर्ष खेलाडी, ग्ल्यामर र प्रभावकारी मार्केटिङलाई समेट्न सक्यो भने, यसले विश्व बजारलाई थप रोमाञ्चक र प्रतिस्पर्धी बनाउने छ ।

Logo