काठमाडाैं । स्पेनिस महारथी रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोटी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन्। ब्राजिलियन फुटबल महासंघले सोमबार यो घोषणा गरेको हो।
महासंघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले भने, “कार्लो एन्सेलोटीलाई ब्राजिलको नेतृत्वमा ल्याउनु एउटा रणनीतिक कदम मात्र होइन। यो विश्वलाई हाम्रो सन्देश हो कि हामी फेरि शीर्ष स्थानमा फर्कन दृढ छौं। उहाँ इतिहासकै महान् प्रशिक्षक हुनुहुन्छ र अब उहाँले विश्वको सबैभन्दा महान् राष्ट्रिय टोलीको नेतृत्व गर्नुहुनेछ।”
६५ वर्षीय एन्सेलोटीले यस सिजन रियल म्याड्रिडलाई ३५ ला लिगा खेलमा २३ जित, ६ बराबरी र ६ हारको नतिजा दिलाएका छन्। उनको टोली बार्सिलोनाभन्दा ७ अंकले पछि रहेकाे छ ।
एन्सेलोटीले सन् २०२१ मा रियल म्याड्रिडमा दोस्रो कार्यकाल सम्हालेका थिए र आइतबार बार्सिलोनाविरुद्धको खेल उनको क्लबका लागि ३५०औं खेल थियो, जसमा रियल ४-३ ले पराजित भएको थियो। उनले क्लबसँग ६ सिजनमा २४७ जित, ५३ हार र ५० बराबरीको कीर्तिमान बनाएका छन्। उनले रियललाई तीन च्याम्पियन्स लिग उपाधिसहित १५ उपाधि जिताएका छन्।
ब्राजिलले जनाएअनुसार एन्सेलोटीले आउँदो महिना इक्वेडर र पाराग्वेविरुद्ध हुने दुई विश्वकप छनोट खेलबाट टोलीको नेतृत्व गर्नेछन्। उनको अनुभवले ब्राजिलियन टोलीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। उनको पहिलो मिसन सन् २०२६ को फिफा विश्वकप छनोटमा ब्राजिललाई मार्गदर्शन गर्नु हुनेछ।
हाल दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) को विश्वकप छनोट तालिकामा ब्राजिल चौथो स्थानमा छ। एन्सेलोटीले टोलीलाई विश्वकपमा छनोट गराएपछि उनको मुख्य लक्ष्य ब्राजिललाई फुटबलको सर्वोच्च उपाधि दिलाउनु हुनेछ ।





























प्रतिक्रिया