काडमाडौं । क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ । लन्डनको वेम्बली स्टेडियममा शनिबार सम्पन्न भएको खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै क्रिस्टलले उपाधि चुमेको हो ।
यो क्रिस्टल प्यालेसको इतिहासमा पहिलो ठूलो उपाधि हो, जसले क्लब र समर्थकहरूमा खुसीको सीमा नै तोडेको छ।
खेलको १६औं मिनेटमा क्रिस्टल प्यालेसका युवा स्टार इबेरेची एजेले गरेको शानदार गोल नै निर्णायक बन्यो। डेनियल मुनोजको क्रसमा एजेले उत्कृष्ट भली प्रहार गर्दै सिटीका गोलकिपरलाई कुनै मौका दिएनन्।
पहिलो हाफमा क्रिस्टल प्यालेसका गोलकिपर डीन हेन्डरसनले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ओमर मार्मौसको पेनाल्टी बचाउँदै सिटीलाई खेलमा फर्कन दिएनन्। हेन्डरसनले खेलको दौरानमा केही महत्त्वपूर्ण बचाउहरू गरे जसले प्यालेसको अग्रतालाई कायम राख्यो।
म्यानचेस्टर सिटीले खेलमा धेरै अवसरहरू सिर्जना गरे पनि क्रिस्टल प्यालेसको बलियो रक्षापंक्तिलाई तोड्न सकेन। दोस्रो हाफमा डेनियल मुनोजले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइडका कारण मान्यता दिएन।
यो जितसँगै क्रिस्टल प्यालेसले अर्को सिजन युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ । यता म्यानचेस्टर सिटी भने यो सिजन उपाधिविहीन बनेको छ, जुन पछिल्ला वर्षहरूमा विरलै देखिने गरेको थियो।





























प्रतिक्रिया