पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ अोभरमा १ सय ४ रनमै समेटियो। उसका मोहम्मद जाहिद आलामलले १९ र आन्द्रु सुबिक्सनले १८ रन जोडे। धनगढीका डेविट लोरेन्सले ३ र दीपेन्द्रसिंह एेरीले २ विकेट लिए।
सन्दीप लामिछानेको टिम विराटनगर टाइटन्सको यो लगातार दोश्रो हार हो भने दीपेन्द्रसिंह ऐरीको धनगढीको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा धनगढी काठमाडौं रोयल्ससँग पराजित भएको थियो भने विराटनगर पोखरा पल्टनसँग पराजित भएको थियो।
६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।































प्रतिक्रिया