काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधिको लागि आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) र इटालियन क्लब इन्टर मिलान आज राती भिड्दै छन् । करिब १० महिना चलेको युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल आज राती नेपाली समयअनुसार पौने एक बजे म्युनिखको एलियान्ज एरिनामा करिब ७५ हजार दर्शकसामु हुनेछ ।
दुबै टोली आजको खेल जित्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यसहित मैदानमा उत्रिने पक्का छ । पीएसजी जर्मनीमा पहिलोपटक प्रतियोगिताको उपाधि उचाल्ने पाँचौ टोली बन्ने दाउमा रहेको छ भने इन्टर मिलान पनि दुई वर्ष अगाडिको फाइनल खेलमा पराजित भएको हारलाई उल्ट्याउन चाहन्छ ।
पीएसजीले यो सिजनमा प्रिमियर लिगका शीर्ष टोलीहरु लिभरपुल, आर्सनललाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्दा अर्कोतर्फ इन्टरले बायर्न म्युनिख र बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको हो । पीएसजीका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ भने इन्टर मिलान चौथो उपाधि जितेर सन् २०२३ को फाइनलमा म्यानचेस्टर सिटीसँगको हारको बदला लिन चाहन्छ ।
यता पीएसजीले जारी सिजन घरेलु लिगको उपाधि जितिसकेको छ। क्लबले आफ्नो कीर्तिमानी १६औं फ्रेन्च कप पनि जितेको थियो। यदी उसले आजको फाइनल खेल जिते सिजनमा ट्रिबल जित्नेछ। यो खेल दुवै टोलीका लागि ऐतिहासिक क्षण बन्ने निश्चित छ । लुइस एनरिकेको नेतृत्वमा रहेको पीएसजीले यो सिजनमा निकै उतारचढावपूर्ण प्रदर्शन गरेको छ । लिग चरणमा १५औँ स्थानमा रहँदै १३ अंक जोडेको पीएसजीले प्ले–अफमा ब्रेस्टलाई १०–० गोलको समग्र स्कोरमा हराएर इतिहास रच्दा राउण्ड अफ १६ मा लिभरपुल, क्वार्टरफाइनलमा लिभरपुल र सेमिफाइनलमा आर्सनललाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल बन्यो ।
अर्कोतर्फ सिमोने इन्जागीको प्रशिक्षणमा रहेको इन्टर मिलानका प्रशिक्षकले लिग चरणमा १९ अंकसहित चौथो स्थान हासिल गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो । समूह चरणमा बायर्न लेभरकुसेनसँग १–० गोलले हार ब्यहोर्नु बाहेक इन्टरले जारी च्याम्पियन्स लिगमा कुनै खेल हारेको छैन । क्वाटरफाइनलमा बायर्न म्युनिख र सेमिफाइनलमा बार्सिलोनाविरुद्ध रोमाञ्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको थियो ।
दुई वर्षअघि इस्तानबुलमा म्यान्चेस्टर सिटीसँग हारेको बदला पनि लिन चाहन्छ । क्लबका केही सिनियर खेलाडीका लागि यो नै अन्तिम मौका भएका कारण आजको खेल इन्टरका लागि ‘वार कि पार’को हुने पक्का छ।
हालसम्म पीएसजी र इन्टरबीच आधिकारिक प्रतिस्पर्धात्मक खेल नभएता पनि मैत्रीपूर्ण खेलमा भने यी दुई टोलीले एकअर्काविरुद्ध पाँचपटक खेलेका छन् । यी ५ भेटमा पीएसजीले तीन खेल जितेको छ भने इन्टरले एक खेल मात्र जितेको छ, एक खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पटक यी दुई क्लबको भेटमा इन्टरले पीएसजीलाई २–१ गोलले हराएको थियो । आज रातीको खेल निकै कडा प्रतिस्पर्धात्मक हुने देखिन्छ । पीएसजीको आक्रमण र इन्टरको रक्षात्मक अनुशासनको परीक्षा फाइनलमा देख्न पाइने छ ।
पीएसजीका लागि ब्राड्ली बार्कोलाको गति, वारेन जाइर–एमरीको मिडफिल्डर र गोलकिपर जियानलुइगी डोनारुम्माको प्रदर्शन निर्णायक हुन्छ । यसैगरी इन्टरका लागि लौटारो मार्टिनेजको गोल गर्ने क्षमता, निकोलो बरेलाको मिडफिल्डर र एलेजान्द्रो बास्तोनीको रक्षापंक्तिले पीएसजीको आक्रमणलाई रोक्ने हरसम्भव प्रयास गर्नेछ ।





























प्रतिक्रिया