रुटकाे शानदार शतकमा इङ्गल्याण्डले जित्याे वेस्ट इन्डिजविरुद्धको शृंखला

रुटकाे शानदार शतकमा इङ्गल्याण्डले जित्याे वेस्ट इन्डिजविरुद्धको शृंखला

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । जो रुटले अविजित १६६ रनको शानदार इनिङ्स खेल्दै इङ्गल्याण्डलाई वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखला जिताएका छन् । कार्डिफमा भएकाे दोस्रो खेलमा वेस्ट इन्डिजमाथि ३ विकेटकाे जित निकाल्दै इङ्गल्याण्डले एक खेल बाँकी छँदै २-० ले शृंखला आफ्नो पक्षमा पारेको हाे ।

टेस्ट क्रिकेटमा पनि इङ्गल्याण्डका सर्वाधिक रनकर्ता रहेका रुटले १३९ बलमा १६६ रन बनाएपछि इङ्गल्याण्डले ३०९ रनको लक्ष्य सात बल बाँकी छँदै पूरा गर्‍यो। यो उनको एकदिवसीय करियरको सर्वाधिक व्यक्तिगत स्कोर हो। यस इनिङ्सका क्रममा उनले विश्वकप विजेता कप्तान ओइन मोर्गनको ६,९५७ रनको कीर्तिमानलाई पनि पछि पारे ।

९३-४ को संकटपूर्ण अवस्थाबाट इङ्गल्याण्डलाई उकास्न रुटको भूमिका महत्वपूर्ण रह्यो। जसमा जेमी स्मिथ, बेन डकेट र जस बटलर शून्य रनमा आउट भएका थिए। रुटले ह्यारी ब्रुकसँग मिलेर तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरे। त्यसपछि विल ज्याक्ससँग १४३ रनको उत्कृष्ट साझेदारी गर्दै इङ्गल्याण्डलाई जितको नजिक पुर्‍याए।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ विकेट लिए ।

यसअघि, वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३०८ रन बनाएको थियो। केसी कार्टीले १०३ रनको शतकीय पारी खेले भने ब्रान्डन किंग र शाई होपले अर्धशतकीय पारी खेलेका थिए।

कार्टी र किंगले दोस्रो विकेटका लागि १४१ रनको साझेदारी गरे। तर, कार्टीलाई १ रनमा डकेटले र ४१ रनमा साकिब महमूदले क्याच छोडेका थिए। होप ६६ बलमा ७८ रन बनाएर अन्तिममा आउट भएका थिए।

इङ्गल्याण्डका आदिल राशिदले ४ विकेट लिए । तेस्रो तथा अन्तिम एकदिवसीय खेल मंगलबार ओभलमा हुनेछ।

Logo