काठमाडौं । ब्राजिल सन् २०२६ को फिफा विश्वकपका लागि छनोट भएको छ । आज भएको दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपका स्थान सुरक्षित गरेको हो ।
खेलको एकमात्र गोल पहिलो हाफको ठिकअघि भिनिसियस जुनियरले माथेउस कुन्हाको पासमा गरेका थिए। खेलको ४४औं मिनेटमा कुन्हाको ६ यार्ड बक्सभित्रको कम पासलाई भिनिसियसले शान्त र सटीक फिनिसिङका साथ बटम लेफ्ट कर्नरमा गोल गर्दै जाली चुमाएका थिए। यही गोल नै ब्राजिलका लागि विश्वकपमा स्थान सुरक्षित बनाउन पर्याप्त बन्यो ।
साथै कार्लो एन्सेलोटीले टोली सम्हालेयताको यो पहिलो जित पनि हो । यसअघि पहिलो खेलमा ब्राजिलले बराबरी खेलेको थियो । यो जितसँगै ब्राजिल २८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिल सन् १९३० देखि लगातार फिफा विश्वकपका लागि छनोट हुने पहिलो टोली पनि हो ।































प्रतिक्रिया