काठमाडौं
साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल आइतबार फाइनलमा बंगलादेशसँग १–० को झिनो अन्तरले पराजित हुँदै साफ च्याम्पियनसिपमा उपविजेता बनेको हो ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा बंगलादेशलाई च्याम्पियन बनाउन मासुरा पर्भिनले दोस्रो हाफको सुरुमै गरेको गोल निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले गोलका केही मौका खेर फालेको थियो । बलियो बंगलादेशलाई पहिलो हाफसम्म बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा बंगलादेशलाई रोक्न सकेन ।
४९ औं मिनेटमा मैदानको मध्यभागमा प्राप्त फ्रि किकलाई मासुराले फ्लिक गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाएकी थिइन् । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि गोल गर्न नसक्दा मासुराको गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो । त्यस अघि १२ औं मिनेटमा बंगलादेशले गोल गरे पनि रेफ्रीले गोलरक्षकलाई फल गरेको भन्दै गोललाई मान्यता दिएनन् ।
फाइनलमा हार बेहारेसँगै नेपालले समूह चरणमा भोगेको हारको बदला लिन असमर्थ बनेको छ । नेपाल समूह चरणमा २–१ ले पराजित भएको थियो । सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारतले तेस्रो स्थान हात पारेको छ ।
राजधानीबाट































प्रतिक्रिया