काठमाडौं
अठारौँ एशियाली खेलकूद प्रतियोगिताका पदक विजेता खेलाडीलाई शनिबार सम्मान गरिएको छ । एनएस एफ स्पोर्टस् ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेमा स्वर्ण पदक विजेता जेमिन महर्जन, रजत पदक विजेता रोशन श्रेष्ठ, कमल भुजेल, जीतबहादुर श्रेष्ठ, प्रकाश थापामगर र विश्वकल्याण लामा हुनुहुन्छ ।
चार दशकदेखि खेलकूद क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएका फोटो पत्रकार श्याम चित्रकार, नेपाल खेलकूद मञ्च मासिकका उमेश दाहाल, पत्रकार समीर नकर्मी लगायतलाई पनि सो अवसरमा सम्मान गरियो । सो अवसरमा महामन्त्री कोइरालाले उत्कृष्ट खेलाडी बन्न कडा परिश्रमको आवश्यकता रहेकामा जोड दिनुभयो ।
“खेलकूदमा मात्र होइन युवा वर्गलाई राजनीतिमा पनि आकर्षित गर्नुपर्छ, काङ्ग्रेसको आगामी महाधिवेशन र संसदीय निर्वाचनमा १७ लाख युवालाई आकर्षित गर्ने लक्ष्य छ, युवा शक्तिको साथ लिएर काङ्ग्रेसले विजय हासिल गर्छ, युवा शक्तिको राजनीतिमा प्रवेशविना राष्ट्रको उन्नति सम्भव छैन”, उहाँले भन्नुभयो ।
स्पोर्टस् ग्रुपका अध्यक्ष एसपी त्रिपाठी, समाजसेवी रामचन्द्र खड्का, कार्यक्रम संयोजक डिएन के सिंह लगायतले राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
रासस





























प्रतिक्रिया