काठमाडौं । मलेसियाको क्वालालम्पुरमा जारी एसीसी यू–१६ इस्ट जोन कप–२०२५ को पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।
योसँगै साविक विजेता नेपालले चौथो पटक फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको खेलमा नेपालले मलेसियाविश्रद्ध उत्कृष्ट बलिङ र ब्याटिङ प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने आफ्नो अभियानलाई थप बलियो बनाएको हो ।
सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङ रोजेर मलेसियालाई ४३.१ ओभरमै सबै विकेट गुमाएर ९० रनमै रोक्न सफल भयो । मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन मात्र जोड्न सफल भए । मलेसियाका लागि अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिँदै मलेसियाको ब्याटिङ ध्वस्त पारे । यस्तै, सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट हात पारे । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिएर मलेसियालाई दबाबमा राखे । नेपालको कसिलो बलिङ र रणनीतिक फिल्डिङले मलेसियालाई कुनै पनि समय खेलमा फर्कन दिएन ।
मलेसियाले दिएको ९१ रनको विजयी लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा ग¥यो । ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्कासहित ५९ रनको विस्फोटक अविजित अर्धशतक बनाए । उनको आक्रामक ब्याटिङले नेपाललाई छिट्टै जिततर्फ डो¥यायो ।
यस्तै, शिवांश बजगाइले २३ रनको अविजित पारी खेल्दै दोस्रो विकेटका लागि परिमार्जनसँग ४५ बलमा ७५ रनको अविजित साझेदारी गरे । अर्का ओपनर प्रसिद्ध जैसी भने २ रनमा क्याच आउट भए ।
साविकको विजेता नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र भुटानविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको थियो । नेपालले समूह ‘ए’ मा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गर्दै अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले, जापानलाई ९ विकेटले, इन्डोनेसियालाई ३७० रनले र भुटानलाई २९८ रनले हराएको थियो । समूह ‘ए’ बाट सिंगापुर उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको थियो, भने समूह ‘बी’ बाट मलेसिया र हङकङले अन्तिम चारमा स्थान बनाएका थिए ।
नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा भैरहेको छ, जहाँ हङकङले १६९ रनको लक्ष्य दिएको थियो । सिंगापुरले जवाफी ब्याटिङ गरिरहेको छ, र यो खेलको विजेताले शनिबार नेपालसँग फाइनलमा भिड्नेछ ।
नेपाल साविक विजेता हो र गत संस्करणमा पनि मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।





























प्रतिक्रिया