चेल्सीका नोनी माडुके आर्सनल पुगे

चेल्सीका नोनी माडुके आर्सनल पुगे

केन्द्रबिन्दु
24
Shares

लन्डन। आर्सनलले चेल्सीका विङ्गर नोनी माडुकेलाई अनुबन्ध गरेको छ ।

२३ वर्षीय माडुकेले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाको टोलीमा सामेल हुनका लागि गत आइतबार पेरिस सेन्ट-जर्मेन विरुद्धको क्लब विश्वकप फाइनल अघि नै चेल्सीको क्याम्प छोडेका थिए।

एमिरेट्स स्टेडियममा माडुकेले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्, जसमा एड-अनसहित उनको शुल्क ५० मिलियन पाउण्डभन्दा बढी पुग्ने बताइएकाे छ। इन्स्टाग्राममा उनले लेखेका छन्, “म मैदानमा उत्रेर ममाथि देखाइएको विश्वासको प्रतिफल दिन आतुर छु। यो धेरै विशेष हुनेछ।”

माडुकेले जनवरी २०२३ मा पीएसभी आइंडहोभनबाट ३० मिलियन पाउण्डमा चेल्सी आएपछि ९२ खेलमा २० गोल गरेका थिए। उनले गत सिजन चेल्सीलाई कन्फरेन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। क्रिस्टल प्यालेस र त्यसपछि टोटेनह्यामको एकेडेमीमा रहेका माडुकेले नेदरल्याण्ड्समा साढे चार वर्ष बिताएका थिए, जहाँ उनले डच कप जितेका थिए।

अगस्ट २०२४ मा इंग्ल्याण्डको सिनियर टोलीबाट डेब्यु गरेका माडुकेले गत महिना एन्डोरालाई विश्वकप छनोटमा १-० ले हराउँदा महत्वपूर्ण भूमिका खेलेका थिए।

माडुके आर्सनलको यस ग्रीष्मको चौथो अनुबन्ध हुन् र गोलकिपर केपा अरिजाबालागापछि चेल्सीबाट आर्सनल आउने दोस्रो खेलाडी हुन्। मिडफिल्डर क्रिस्टियन नोर्गार्ड (ब्रेन्टफर्डबाट) र मार्टिन जुबिमेन्डी (रियल सोसिडाडबाट) पनि यसअघि नै आर्सनलमा आइसकेका छन्। क्लब स्पोर्टिङका स्ट्राइकर भिक्टर ग्योकेरेस र भ्यालेन्सियाका डिफेन्डर क्रिस्टियन मोस्केरालाई पनि अनुबन्ध गर्ने तयारीमा रहेको बताइएको छ।

Logo