काठमाडाैं । इंग्ल्यान्डकी डिफेन्डर जेस कार्टरले युरो २०२५ को क्रममा आफूमाथि जातीय दुर्व्यवहार भएको खुलासा गरेकी छन् ।
घटनापछि इंग्ल्यान्ड महिला राष्ट्रिय फुटबल टोलीले आइतबार एक विज्ञप्ति जारी गर्दै जातीय विभेदविरुद्धको सांकेतिक ‘घुँडा टेक्ने’ प्रदर्शन रोक्ने घोषणा गरेको छ। “स्पष्ट रूपमा हामी र फुटबललाई जातीयतासँग लड्ने अर्को बाटो खोज्न आवश्यक छ” उनीहरूले भनेका छन्।
२७ वर्षीय कार्टरले प्रतियोगिता सुरु भएदेखि नै आफूले धेरै जातीय दुर्व्यवहार भोगेको बताएकी छिन्। उनले भनिन्, “कुनै पनि समर्थकलाई प्रदर्शन र नतिजाबारे आफ्नो राय राख्ने अधिकार छ भन्ने मलाई लाग्छ, तर कसैको रूप वा जातलाई लक्षित गर्नु ठीक छैन।” यसको परिणाम स्वरूप, उनले सामाजिक सञ्जालबाट केही समयका लागि टाढा रहने र यसलाई आफ्नो टोलीले हेर्ने बताइन्।
फुटबल एसोसिएसन (एफए)ले “यस घृणित अपराधका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउन प्रहरीसँग काम गरिरहेको” बताएको छ।
कार्टरकी इंग्ल्यान्डकी टोली साथी लोट्टे वुबेन-मोयले पनि सामाजिक सञ्जालबाट बाहिरिने घोषणा गरेकी छिन्।
बेलायती प्रधानमन्त्री सर केइर स्टारमरले भने, “फुटबल वा समाजको कुनै पनि ठाउँमा जातीयताको स्थान छैन। म जेस, लायनसेस र जातीयताको शिकार भएका कुनै पनि खेलाडीको समर्थनमा छु, चाहे त्यो मैदानमा होस् वा बाहिर।”
२०१७ मा इंग्ल्यान्डका लागि डेब्यु गरेकी र ४९ क्याप जितेकी कार्टर युरो २०२२ जित्ने टोलीकी सदस्य थिइन्। उनले बर्मिङ्घम सिटीबाट आफ्नो करियर सुरु गरेकी थिइन् र चेल्सीसँग पाँचवटा महिला सुपर लिगको उपाधि जितेकी थिइन्। गत गर्मीमा उनी अमेरिकी क्लब गोथम एफसी गएकी थिइन्।
इंग्ल्यान्डको अर्को खेल मंगलबार युरो २०२५ को सेमिफाइनलमा इटालीसँग हुनेछ।































प्रतिक्रिया