काठमाडाैं । ब्राजिलले महिला कोपा अमेरिकाको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै ब्राजिलले नवौँ पटक महाद्वीपीय उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयमा खेल ४-४ को बराबरीमा सकिएको थियो।
कोलम्बियाका लागि लिन्डा काइसेडोले २५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। त्यसको लगत्तै, एन्जेलिनाले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई बराबरीमा फर्काइन्। खेलको ६९ औं मिनेटमा टर्सियानेको आत्मघाती गोलले कोलम्बियालाई पुनः अग्रता दिलायो, तर अमान्डा गुटिएरेसले ८० औं मिनेटमा गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याइन्।
खेलको निर्धारित समयको अन्त्यतिर मायरा रामिरेजले गोल गर्दै कोलम्बियालाई तेस्रो पटक अग्रता दिलाए पनि ब्राजिलकी महान् खेलाडी मार्टाले इन्जुरी समयमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलिन्। अतिरिक्त समयमा मार्टाले फेरि गोल गर्दै ब्राजिललाई पहिलो पटक अग्रता दिलाइन्।
तर, लेइसी सान्तोसले उत्कृष्ट फ्री-किकमार्फत गोल गर्दै खेललाई ४-४ को बराबरीमा पुर्याइन् र खेल पेनाल्टी सुटआउटमा पुग्याे । पेनाल्टीमा ब्राजिलकी गोलकिपर लोरेनाले कोलम्बियाकी काराबालीको प्रहार बचाएपछि ब्राजिलले जित सुनिश्चित गरेको हाे ।





























प्रतिक्रिया