पेरिस
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एम्बाप्पे फ्रान्सेली घरेलु लिग वानको आगामी तीन खेलका लागि निलम्बित भएका छन् । खेलको क्रममा गलत व्यवहार गर्दै रातो कार्ड पाएका एम्बाप्पेलाई फ्रान्सेली लिग वानको अनुशासन समितिले कारबाही स्वरूप निलम्बनको निर्णय गरेको हो ।
गत साता फ्रान्सेली लिग अन्तर्गत भएको खेलमा पीएसजीले निमेसलाई ४–२ गोल अन्तरले पराजित गर्दा सशक्त प्रदर्शन गरेका एम्बाप्पेले सोही खेलको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । निमेसका तेजी साभानिरले प्रहार गरेको ट्याकलपछि झगडामा उत्रिएका उनलाई रातो कार्ड देखाइएको थियो । एम्बाप्पेलाई खराब ट्याकल प्रहार गर्ने निमेसका जेतीलाई भने पाँच खेलको निलम्बन तोकिएको छ ।
१९ वर्षीय एम्बाप्पे फ्रान्सले गत जुलाईमा रुसमा भएको विश्वकपको उपाधि जित्दाका मुख्य खेलाडी थिए । उनी यसै साताबाट सुरु भएको युरोपियन फुटबल महासंघ (यूईएफए) नेसन्स लिग अन्तर्गत जर्मनी विरुद्धको खेलका लागि फ्रान्सको राष्ट्रिय टोलीसँगै हाल म्युनिख पुगेका छन् । सोही कारण उनले आफू माथिको निलम्बनको निर्णय विरुद्ध अपिल समेत नगर्ने भएका छन् । सो निर्णयसँगै एम्बाप्पेले सेप्टेम्बरको १४ तारिख हुने सेइन्ट इटिनी, सेप्टेम्बर २३ मा हुने रेन्नेस र सेप्टेम्बर २६ मा हुने रेइम्सविरुद्धको खेल गुमाउनेछन् ।





























प्रतिक्रिया