नेपालको लगातार तेस्रो हार, सुध्रिएन बलिङ र ब्याटिङ

नेपालको लगातार तेस्रो हार, सुध्रिएन बलिङ र ब्याटिङ

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

डार्विनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले स्तब्ध भएको हो । जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमै समेटियो ।

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्नुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । ४९ बल खेलेका उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३३ रन जोडे । ओपनर कुशल भुर्तेलले ११ बलमा ४ चौकासहित २५ रन जोडे भने कुशल मल्लले ११ बलमा ११ रन जोडे । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको थियो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए ।

यो नेपालको लगातार तेस्रो हार हो । नेपाली टोलीले यसअघि खेलेका दुवै खेलमा पराजय भोगेको थियो । नेपाली टोलीले सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नर्दर्न टेरिटोरीले १७७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १३५ रनमै अलआउट हुँदै ४२ रनको हार बेहोरेको थियो । यस्तै, दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ टोलीविरुद्ध १८७ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपाली टोली १५४ रनमै समेटिएर ३२ रनले पराजित भयो ।

Logo