फाइनलमा चुक्यो मेस्सीको इन्टर मियामी, सिएटलले जित्यो लिग्स कपको उपाधि

फाइनलमा चुक्यो मेस्सीको इन्टर मियामी, सिएटलले जित्यो लिग्स कपको उपाधि

केन्द्रबिन्दु
111
Shares

काठमाडाैं । बहुप्रतिक्षित लिग्स कप २०२५ को फाइनल खेलमा लियोनेल मेस्सीको टोली इन्टर मियामी चुकेकाे छ । भर्खरै सम्पन्‍न खेलमा सिएटल साउन्डर एफसीले मियामीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाे ।

सिएटल साउन्डरका लागि ओसाजे डे रोजारियो, एलेक्स रोल्डन र पल रोथरोकले गोल गर्दै टोलीलाई शानदार जित दिलाए। यो जितसँगै सिएटल साउन्डरले उत्तर अमेरिकाका सबै ठूला ट्रफी जित्ने पहिलो टोली बन्ने गौरव पनि प्राप्त गरेको छ।

खेलको २६औं मिनेटमा ओसाजे डे रोजारियोले एलेक्स रोल्डनको क्रसमा हेडिङमार्फत गोल गर्दै सिएटललाई सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफमा इन्टर मियामी, विशेष गरी मेस्सी र लुइस स्वारेजले खेलमा फर्कने प्रयास गरे। स्वारेजले मेस्सी र टेडियो एलेनडेलाई गोलका लागि अवसर सिर्जना गरे पनि उनीहरु दुवैले ती सुनौलो मौकाहरू सदुपयोग गर्न सकेनन्। ५० औं मिनेटमा मेस्सीले गोलपोस्टको नजिकैबाट प्रहार गरेको शट बाहिरिएको थियो भने ६० औं मिनेटमा एलेनडेको प्रहार पनि पोस्ट बाहिर गएको थियो।

खेलको ८४ औं मिनेटमा सिएटलले पेनाल्टी पायो। पेनाल्टीलाई एलेक्स रोल्डनले सहजै गोलमा परिणत गर्दै टोलीको अग्रतालाई २-० मा पुर्याए। त्यसपछि, खेलको ८९ औं मिनेटमा सब्स्टिट्युट खेलाडी पल रोथरोकले तेस्रो गोल गर्दै सिएटलको जित सुनिश्चित गरे।

यस जितसँगै सिएटल साउन्डरले लिग्स कपको उपाधि जित्न सफल भएको छ र २०२६ को कन्काकाफ च्याम्पियन्स कपको राउन्ड अफ १६ मा सिधै स्थान सुरक्षित गरेको छ।

इन्टर मियामीका लागि यो हारले सन् २०२३ मा जितेको लिग्स कपको उपाधि रक्षा गर्ने सपना पनि तोडिएको छ। अब उपविजेतामै चित्त बुझाउनुपरेको छ।

Logo