तेस्रो पटक टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले गर्यो १५ सदस्यीय टोलीको घोषणा, साहब आलम परे रिजर्भमा

तेस्रो पटक टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले गर्यो १५ सदस्यीय टोलीको घोषणा, साहब आलम परे रिजर्भमा

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२६ को एशिया तथा ईस्ट एशिया प्यासिफिक छनोट फाइनलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

यो टोली युवा ऊर्जा र अनुभवी खेलाडीहरूको सन्तुलित मिश्रण हो, यो टोलीले नेपाललाई २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउने सपना बोकेको छ । हालै युएईमा वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिज जितेको नेपाली टोली अब ओमानमा हुने छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ प्रस्थान गरेको छ ।

वेस्ट इन्डिजसँगको सिरिज खेल्न युएई गएको १६ सदस्यीय टोलीबाट साहब आलमलाई बाहिर राखेर १५ सदस्यीय टोली चयन गरिएको छ । साहब आलम ट्राभलिङ रिजर्भका रूपमा रहनेछन्, जसले आवश्यक परेको खण्डमा टोलीलाई सहयोग गर्नेछन् । यो परिवर्तनले टोलीको रणनीतिमा थप तीक्ष्णता ल्याउने अपेक्षा गरिएको छ ।

कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको यो टोलीमा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेख जस्ता आक्रामक खेलाडीहरू छन्, जसले विपक्षी बलरहरूलाई दबाब दिन सक्छन् । मध्यक्रममा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र सन्दीप जोरा जस्ता अलराउन्डरहरूले टोलीलाई गति दिनेछन् । स्पिन तर्फ सन्दीप लामिछाने र ललित नारायण राजवंशीको उपस्थितिले नेपालको बलिङलाई थप मजबुत बनाएको छ ।

पेस आक्रमणमा करण केसी, सोमपाल कामी, गुलशन झा र नन्दन यादव जस्ता खेलाडीहरूले विविधता थपेका छन् । त्यसैगरी टोलीमा युवा खेलाडीहरू लोकेश बम र नन्दन यादवले नयाँ ऊर्जा थपेका छन् ।

१६ सदस्यीय टोलीको घोषणापछि सबैको ध्यान ओमान छनोटमा केन्द्रित भएपनि, हालै युएईको शारजाहमा भएको वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिजमा जित हात पार्नु नेपाल क्रिकेटको लागि माइलस्टोन रहेको थियो । नेपालले यो सिरिज २–१ ले जितेको थियो, जसमा दोस्रो खेलमा वेस्ट इन्डिजलाई मात्र ८३ रनमा समेटेर ९० रनको ठूलो अन्तरले जित हासिल गरेको थियो । यो जित दुई पटकको टी–२० विश्वकप विजेता राष्ट्र वेस्ट इन्डिजविरुद्धको थियो, जसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिएको छ ।

आईसीसी टी–२० विश्वकप २०२६ को एशिया/ईस्ट एशिया प्यासिफिक छनोट फाइनलका खेल यहि असोज २२ देखि ३१ गतेसम्म ओमानमा हुँदैछ । नेपाल समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणबाट उत्कृष्ट प्रदर्शन गरेर सुपर ६ मा प्रवेश गर्दै शीर्ष तीन टोली भित्र स्थान बनाउन सफल टोल िमात्र विश्वकपमा छनौट हुनेछ । यो छनोटमा नेपालसँगै अन्य एसोसिएट राष्ट्रहरू जस्तै ओमान, हङकङ, सिंगापुर, मलेसिया आदि सहभागी छन् ।

यदि ओमानमा नेपालले आफ्नो क्षमता अनुसार खेल्यो भने, सन् २०२६ मा हुने टी–२० विश्वकपमा नेपालको सहभागिता निश्चित हुनेछ । यो यात्रा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने अवसर पनि हो, जसले लाखौं नेपाली हृदयहरूलाई एकताबद्ध गर्नेछ ।

Logo