काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटमा नेपाल समूह विजेता बन्दै सुपर सिक्समा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको हो ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा जितका लागि १३२ रनको लक्ष्य पाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ३८ रन बनाए। त्यस्तै, गुल्सन झाले २० बलमा २८ रन र कुशल भुर्तेलले २१ रनको महत्वपूर्ण योगदान दिए।
जापानका बलरहरूमध्ये शोमा स्लेटरले २ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानका लागि ओपनर केन्डेल काडोवाकी–फ्लेमिङले सर्वाधिक ६० रन बनाएका थिए भने इसाम रहमानले ३१ रनको योगदान दिए।
नेपालको बलियो बलिङसामु अन्य ब्याट्सम्यान टिक्न सकेनन्। नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए। नन्दन यादव र साेमपाल कामीले १/१ विकेट हात पारे।
आज नेपालले जापानलाई हराएर सुपर सिक्समा २ अंक लिएर गएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र जापान दुवैले आफ्नो पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेलअगावै सुपर सिक्समा स्थान सुरक्षित गरिसकेका हुन् । सुपर ६ पछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी २० कपमा छनोट हुनेछ।





























प्रतिक्रिया