काठमाडौं । नेपालले ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको उपाधि जितेको छ । आज भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनले स्तब्ध पार्दै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको कुनैपनि प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको हो ।
नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै समेटियो । ओपनर सिन सोलियाले सर्वाधिक ४० रन जोडे । साथै बेञ्जामिनले ११ रन जोड्नुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
आज ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २११ रनको स्कोर खडा गरेको थियाे । नेपालको यस उत्कृष्ट इनिङ्समा ओपनर आसिफ शेख र अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । विकेटकिपर शेखले मात्र ४१ बलको सामना गर्दै ७ चौका र ४ छक्काको मद्दतले ६९ रनको उत्कृष्ट इनिङ्स खेले।
मध्यक्रममा आएका ऐरीले पनि विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रन बनाए। इनिङ्सको अन्त्यतिर लोकेश बमले मात्र १२ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोड्दै टोलीको स्कोरलाई २११ सम्म पुर्याउन निर्णायक भूमिका खेले।
कप्तान रोहित पौडेलले १२ बलमा २१ रन जोड्दै राम्रो साथ दिएका थिए।
समोआका बलरहरूमध्ये ड्यानियल बर्गेस, साउमानी टिली, डेरियस भासर र नोआ मीडले १–१ विकेट लिए ।
नेपालले सुपर सिक्सका चार वटै खेलमा अपराजित रहँदै १० अङ्कका साथ पहिलो स्थान सुरक्षित गरेको छ । नेपालले यसअघि यूएई, कतार र ओमान जस्ता टोलीहरूलाई पराजित गरिसकेको छ ।
नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । जसबाट २ अतिरिक्त अंक जोडेको नेपालले सुपर सिक्सको पहिलो खेलमै यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो भने त्यसपछि कतारसँग ५ रनको जित निकालेको थियो । ओमानमाथि भने नेपालले ३८ रनको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । यो जितसँगै नेपालले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी-२० विश्वकपको टिकट काटिसकेको छ । ओमान र यूएई पनि विश्वकपमा छनोट भइसकेका छन्। यता जापान, कतार र सामोआको भने विश्वकप सपना अन्त्य भइसकेको छ।































प्रतिक्रिया