नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ

नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकासँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको सिरिजको पहिलो खेलमा नेपाल १०६ रनले स्तब्ध भएको हो ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ओभरमा अलआउट हुँदै १५६ रनमा समेटिएको हो । नेपालका कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर प्रदर्शन गर्न सकेनन् । २६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन र लगातार विकेट गुमाउँदा लक्ष्यभन्दा निकै पछि पर्‍यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५० बलमा सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन। आसिफ शेखले ३७ र भीम शार्कीले २९ रन जोडेका थिए।

नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा अमेरिकी बलर हारमीत सिंहले ८.१ ओभरमा २७ रन दिएर ६ महत्वपूर्ण विकेट लिए । उनलाई शुभम रञ्जानेले २ विकेट लिएर राम्रो साथ दिए।

त्यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियाे ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा सोमपाल कामीको हातबाट रन आउट भएका थिए । यस्तै, साइतेजा मुक्कमल्लाले पनि ५८ बलमा ३ चौकासहित ४२ रनको योगदान दिएका थिए। उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, मिलिन्द कुमारले आक्रामक इनिङ खेल्दै ५० बलमा ६ चौका र २ छक्का प्रहार गरी अविजित ७० रन जोडे।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यसबाहेक, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट हात पारेका थिए।

यस जितसँगै अमेरिकाले लिग-२ मा आफ्नो स्थिति बलियो बनाएको छ भने नेपाललाई अर्को हारले दबाब थपेको छ। नेपाल चार सिरिजमा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ दोस्रो स्थानमा छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ सिरिजमा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन सिरिज खेल्नेछन् भने ६ सिरिज अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

Logo