क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चतुरबहादुर चन्द

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चतुरबहादुर चन्द

केन्द्रबिन्दु
33
Shares

भजनी (कैलाली) । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताएका हुन् ।

“यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।”

नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए । नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरे ।

“अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,” अध्यक्ष चन्द भन्छन्, “एनपिएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।”

खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए ।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालिन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताए । उनले छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास पनि व्यक्त गरे ।

क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उनले आवश्यकता योजनासहित क्रिकेट मैदानका लागि स्थानीय सरकारले काम थालनी गर्दा त्यसमा आफ्नोतर्फबाट लगानी गर्न तयार रहेको बताए ।

“खेलाडी उत्पादन हुने थलो स्थानीय तह हो । स्थानीय सरकारले मैदानका लागि आवश्यक व्यवस्था गर्न सक्यो भने त्यसमा हामी लगानी गर्न तयार छौँ,” उनले भने । टुर ट्रफी कैलालीलगायतका सुदूरपश्चिमका विभिन्न स्थानमा पु-याइने बताइएको छ ।

Logo