काठमाडौं । दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम भएका हुन् । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ।
यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गरिन् । यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भए । कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दूरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाइन् ।
विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गरे । प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम भएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।
त्यसअवसरमा निगमका कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको जनाउँदै आगामी दिनमा यसखालका रचनात्मक कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे ।





























प्रतिक्रिया