हङकङ सिक्सेसः नेपाल युएईसँग पराजित

हङकङ सिक्सेसः नेपाल युएईसँग पराजित

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ मा नेपाल युएईसँग पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल ४३ रनले स्तब्ध भएको हो ।

१३० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ८६ रनमै समेटिएको हो । नेपालका लागि आदिल आलमले १२ बलमा ३२ रन जोडे भने सन्दीप जोरा ११ बलमा ३० रन बनाएर अविजित रहे । नेपालको सुरुवाती ब्याटिङ सुस्त रहँदा लक्ष्य पछ्याउन सकेन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १२९ रन बनाएको थियो । उसका लागि निलांश केसवानीले १० बलमा अर्धशतक बनाए । उनले १५ बल खेल्दा १० छक्का र तीन चौकाको मदतमा ७३ रन बनाए ।

नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए।

यसअघि शनिबार भएको समूह चरणको खेलमा नेपालले भारतमाथि ९२ रनको फराकिलो जित दर्ता गरेको थियो । यो नै नेपालको पहिलो जित हो । तर शनिबार नै भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै शुक्रबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको थियो ।

नेपालले पहिलो पटक गत वर्ष यस प्रतियोगितामा सहभागिता जनाएको थियो । यो नेपालको दोस्रो सहभागिता हो । ३३ वर्षको लामो इतिहास बोकेको यो प्रतियोगिता अनौठो ढाँचा र रोमाञ्चक शैलीका कारण विश्वभर चर्चित छ । यहाँ छक्का र चौकाको वर्षा नै गरिन्छ । हरेक खेल छ ओभरको हुनेछ र तीन दिनमा जम्मा २९ खेल खेलिनेछन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

Logo