काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विश्वव्यापी प्रविधि कम्पनी याङ्गोअन्तर्गतको याङ्गो नेपालसँग मुख्य प्रायोजकका लागि सम्झौता गरेको छ ।
मंसिर १ गते सुरु हुने एनपीएलमा लायन्सले चौथो दिनमा चितवन राइनोजसँग आफ्नो पहिलो खेल खेल्ने छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले यांगोलाई टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै एनपीएललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले भने, युवाहरूमाझ लोकप्रिय कम्पनी यांगोलाई हाम्रो टिमको टाइटल स्पोन्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ ।
उत्कृष्टता, नवीनता र विश्वमा पहुँचप्रतिको हाम्रो एउटै दृष्टिकोण साझा भएको महसुस भइरहेको छ । नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई बोकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्जनका लागि हामीले यांगोलाई उत्कृष्ट सहयात्रीको रूपमा रोजेका छौँ । लुम्बिनी लायन्ससँगको टाइटल स्पोन्सर सम्झौतापछि यांगो नेपालका प्रतिनिधिले भने, क्रिकेट नेपालमा सबैको प्रिय खेल हो, जसले सबैलाई जोड्ने माध्यम बनेको छ ।
हामी लुम्बिनी लायन्सलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छौँ र उनीहरूलाई आगामी नेपाल प्रिमियर लिगका लागि शुभकामना दिन्छौँ । हामी विश्वस्त छौँ कि उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।
यांगो ग्रुप दुबई, संयुक्त अरब इमिरेट्स (यूएई)मा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो । यसले विश्वका विभिन्न ठाउँबाट विकास गरिएका प्रविधिहरूलाई स्थानीय समुदायका आवश्यकताअनुसार दैनिक सेवाहरूमा रूपान्तरण गर्छ– जसमा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन, र एआई असिस्टेन्ट लगायतका सेवा समावेश छन् ।
लुम्बिनी लायन्स, जसका मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्, दोस्रो सिजनका लागि तीव्र रूपमा तयारीमा छन् । मंसिर १ गते (मध्य नोभेम्बर) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइटअन्तर्गत हुने एनपीएलका लागि टिमले अहिले एक्स्ट्राटेक ओभलमा फ्लडलाइटमुनि प्रशिक्षण गरिरहेको छ ।





























प्रतिक्रिया