काठमाडौं । यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने टुंगो लागेको हो ।
क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भएपनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।
यसले नेपाली स्थानीय प्रसारकहरूलाई असन्तुष्ट बनाएको छ । उनीहरूका अनुसार, क्यानले स्टार स्पोट्र्सको स्लट किन्न ठूलो रकम खर्च गरेको छ, जसले स्थानीय प्रसारणको मूल्य घटाएको छ ।
अर्कोतर्फ स्टार स्पोर्ट्सको प्रसारणले एनपीएललाई भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंकालगायतका देशहरूमा पुर्याएको छ । अमेरिका र क्यानडामा भने विलो टीभीमार्फत हेर्न सकिनेछ । यो सम्झौताले नेपाली क्रिकेटको दर्शक संख्या बढाउने अपेक्षा गरिएको छ, जसले स्पोन्सरशिप र विज्ञापनबाट क्यानलाई थप आम्दानी दिन सक्छ । तर, यसले नेपाली प्रसारकहरूलाई भने गैर–एक्सक्लुसिभ बनाएर उनीहरूको लगानी जोखिममा पारेको छ ।
त्यति मात्र होइन गत वर्ष एनपीएलको पहिलो संस्करण नेपालभित्र युट्युबबाट निःशुल्क प्रसारण गरिएको थियो, जसले लाखौं दर्शकहरूलाई आकर्षित गरेको थियो । डिश होमको एक्सन स्पोर्ट्स च्यानलको युट्युबबाट प्रसारणले ग्रामीण क्षेत्रका फ्यानहरूलाई पनि खेलहरू हेर्न सजिलो बनाएको थियो । तर, यस वर्ष युट्युबबाट एनपीएल हेर्न नपाइने भएको छ ।
क्यानले यो निर्णयलाई व्यावसायिक मोडेलको रूपमा व्याख्या गरेको छ, जसले निःशुल्क प्लेटफर्मबाट हटाएर पेड स्ट्रिमिङलाई प्राथमिकता दिएको देखिन्छ । युट्युबको बदलामा, क्यानले यस पटक मोबाइल एपहरूबाट सबै खेलहरू प्रसारण गर्ने अधिकार बिक्री गर्न लागेको छ । यो मोडेलले टीभी पहुँच नभएका नेपाली दर्शकहरू र विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेको छ । यो परिवर्तनले दर्शकहरूमा बहस जन्माएको छ । एकातिर, यसले नेपाली क्रिकेटलाई व्यावसायिक बनाउँदै क्यानको आम्दानी बढाउन सक्छ ।
अर्कोतिर, निःशुल्क युट्युबबाट हटाउँदा ग्रामीण तथा आर्थिक रूपमा कमजोर दर्शकहरू प्रभावित हुन सक्छन् ।
‘फेस्टिभल अफ हिमालयज’को उपनामले परिचित एनपीएल नेपालको सर्वोच्च घरेलु टी–२० क्रिकेट लिग हो । सन् २०२४ मा सुरु भएको यस लिगको पहिलो संस्करणले नेपाली क्रिकेटलाई नयाँ ऊर्जा दिएको थियो । उक्त संस्करणको विजेता जनकपुर बोल्ट्सले २ करोड रुपैयाँ पुरस्कार पाएकोे थियो । एनपीएलको मुख्य उद्देश्य नेपाली क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म दिनु हो । यसमा विदेशी खेलाडीहरूको सहभागिताले लिगलाई थप रोचक बनाएको छ ।





























प्रतिक्रिया