काठमाडाैं । फिफा विश्वकप छनोटमा आयरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा पुग्ने आफ्नो झिनो आशालाई जीवितै राखेको छ।
डब्लिनस्थित एभिया स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान तथा विश्व स्टार क्रिस्टियानो रोनाल्डो निराश बने, र खेलको अन्त्यतिर उनले रातो कार्ड समेत पाए।
खेलमा आयरल्याण्डका युवा स्ट्राइकर ट्रोय पारोट नायक बने। उनले पहिलो हाफमै दुई गोल गर्दै पोर्चुगलमाथि निर्णायक अग्रता दिलाएका थिए। १७औँ मिनेटमा पारोटले नजिकबाट हेडिङमार्फत गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाए। साथै ४५औँ मिनेटमा उनले उत्कृष्ट व्यक्तिगत प्रयासमा पोर्चुगलका गोलकिपरलाई पराजित गर्दै दोस्रो गोल गरे र आयरल्याण्डलाई २-० को बलियो स्थितिमा पुर्याए।
विश्वकपमा सिधै छनोट हुने अवसर गुमाएको पोर्चुगलका लागि खेल झन् कठिन बन्यो। दोस्रो हाफकाे ६१औँ मिनेटमा रोनाल्डोले आयरल्याण्डका डिफेन्डर दारा ओ’शिया माथि बल नभएको बेला कुहिनोले हानेको भिडियो असिस्टेन्ट रेफ्रीले पुष्टि गरेपछि उनलाई सीधै रातो कार्ड दिइएको थियो।
पोर्चुगलले १० खेलाडीमा सीमित भएर पनि खेलमा फर्कने प्रयास गरे पनि आयरल्याण्डको बलियो रक्षापंक्ति र गोलकिपर केओभिन केल्लेहरको उत्कृष्ट प्रदर्शनसामु पोर्चुगलको सबै प्रयास असफल भयो। रोनाल्डोको यो पोर्चुगलका लागि पहिलो रातो कार्ड हो।
अब समूह ‘एफ’ मा शीर्ष स्थानका लागि पोर्चुगलले अन्तिम खेलमा अर्मेनियाको सामना गर्नेछ भने आयरल्याण्डले हंगेरीसँग खेल्नेछ।































प्रतिक्रिया