काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अबको ठिक २ दिनपछि अर्थात् मंसिर १ गतेदेखि सुरू हुँदैछ । यो संस्करणको एनपीएल दिन र रात दुवै समय हुने भएकाले खेल थप रोमाञ्चक र दर्शकहरूको सहभागिता पनि बढने अपेक्षा गरिएको छ । एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो ।
यस संस्करणमा पनि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससहित, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स र कर्णाली याक्स उपाधिका लागि महा–भिडन्तमा उत्रँदै छन् । यस संस्करणको एनपीएलमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र इमरान ताहिर, अस्ट्रेलियाका क्रिस लिन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिम्मी निशमलगायतका खेलाडीहरु टियू ग्राउण्डमा देख्न सकिनेछ ।
तर, यो प्रतियोगिताको सफलतामा खेलाडीहरू मात्र होइन, मुख्य प्रशिक्षकहरूको भूमिका पनि निर्णायक हुने गर्छ । यस पटकको एनपीएलमा अन्तर्राष्ट्रिय लेजेन्ड प्रशिक्षकदेखि नेपाली क्रिकेटका स्थानीय हिरोहरूसम्म नियुक्त भएका छन् । केही टोलीले अघिल्लो संस्करणकै प्रशिक्षकलाई निरन्तरता दिएका छन् भने केहीले भने नयाँ अनुहार भित्र्याएका छन् ।
आठ टोलीका मुख्य प्रशिक्षकहरू को कस्ता ?
शिवनारायण चन्द्रपाउल(जनकपुर बोल्ट्स) : पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले यस पटक मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका महान् ब्याटर शिवनारायण चन्द्रपाउललाई नियुक्त गरेको छ ।
‘टाइगर’ उपनामले परिचित चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १६४ टेस्ट र २६८ एकदिवसीय खेल खेलेका छन्, जसमा उनले २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनलाई क्रिकेट इतिहासकै सबैभन्दा स्थिर ब्याटरहरूमध्ये एक मानिन्छ ।
चन्द्रपाउलको अद्वितीय ब्याटिङ शैली साइड–अन स्ट्यान्सले जनकपुरका युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग र आईपीएल जस्ता विश्वका प्रमुख लिगहरूमा अनुभव बटुलेका छन् । सन् २०२२ मा अमेरिकी महिला टोलीको प्रशिक्षक रहेका चन्द्रपाउलको टाउकोमा जनकपुरलाई उपाधि जोगाउने चुनौती रहेको छ ।
जगत टमाटा(सुदूरपश्चिम रोयल्स): पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले मुख्य प्रशिक्षक जगत टमाटालाई नै निरन्तरता दिएको छ । टमाटालाई नेपाली क्रिकेटका ‘सफल छवि’ को प्रशिक्षकका रूपमा चिनिन्छ । उनको नेतृत्वमा सुदूरपश्चिम गत सिजन फाइनलसम्म पुगेको थियो र यस पटक उपाधि नै जित्ने लक्ष्य पनि राखेको छ । क्रिस लिन, स्कट कुगेलिजन र जोस ब्राउन जस्ता स्टारहरू भएको यो टोलीमा टमाटाको स्थानीय ज्ञानले मजबुत रणनीति बनाउनेछ ।
कलाम अली(चितवन राइनोज): गत सिजनका सहायक प्रशिक्षक कलाम अलीलाई चितवन राइनोजले यस सिजन मुख्य प्रशिक्षक बनाएको छ । बागमती प्रदेश क्रिकेट टोलीका प्रशिक्षक पनि रहेका अलीले चितवनलाई प्लेअफसम्म पुर्याउने लक्ष्य राखेका छन् । गत सिजन उमेश पटवालको नेतृत्वमा रहेको टोलीले एलिमिनेटर राउण्डमा हार बेहोरेको थियो ।
ज्ञानेन्द्र मल्ल(कर्णाली याक्स): कर्णाली याक्सले पूर्व राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्ललाई नै यस पटक पनि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । अघिल्लो संस्करणर ज्ञानेन्द्र मल्लले कर्णाली याक्सलाई प्लेअफसम्म पुर्याएका थिए । इसतोमा सहायक प्रशिक्षक राजु बस्न्यातको साथमा मल्लले यस पटक भने उपाधि नै जित्ने लक्ष्य राखेका छन् ।
मोन्टी देसाई(काठमाडौँ गोर्खाज): काठमाडौँ गोर्खाजले नेपाली राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईलाई यस संस्करणका लागि नियुक्त गरेको छ । मोन्टीको कार्यकालमा नेपालले ओडीआई मान्यता जोगाउनुका साथै एसिया कप पनि खेलेको थियो त त्यति मात्र होइन मोन्टीकै कार्यकालमा नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनौट भएको थियो । गत सिजन पाँचौं भएको काठमाडौँ गोर्खाजलाई मोन्टीले यस सिजन उपाधि नै जिताउन हरसम्भव प्रयास गर्ने देखिन्छन् ।
पुबुदु दसानायके(विराटनगर किङ्ग्स): विराटनगर किङ्ग्सले गत सिजनको विजेता जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षक बनाएको छ । पुबुदुले नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्म पुर्याएका थिए र २०१४ टी–२० विश्वकपमा छनोट पनि गराएका थिए । उनी हाल अमेरिकी टोलीका मुख्य प्रशिक्षक छन् । यस संस्करणका लागि विराटनगरले फाफ डु प्लेसिस, मार्टिन गुप्टिल र जर्ज मुन्से जस्ता स्टारहरू भित्राएपछि पुबुदुले ‘यो टोली उपाधि जित्न सक्षम छ ।’ भनेका छन् ।
राजीव कुमार(पोखरा एभेन्जर्स): पोखरा एभेन्जर्सले यस संस्करणका लागि पनि भारतीय प्रशिक्षक राजीव कुमारलाई नै निरन्तरता दिएको छ । चेन्नई सुपर किंग्सका पूर्व फिल्डिङ र ब्याटिङ प्रशिक्षक कुमारले गत सिजन सातौं स्थानमा टुङ्ग्याएको यात्रालाई यस पटक सुधार्ने दबाब रहेको छ । रेमन रिफर र एडम रोसिङटन जस्ता विदेशीहरू भएको टोलीमा कुमारले स्थानीय खेलाडीहरूमा फोकस गरेका छन् ।
टिनु योहान्नान(लुम्बिनी लायन्स): लुम्बिनी लायन्सले भारतीय टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ४६ वर्षीय योहान्नानले भारतका लागि ३ टेस्ट र ३ एकदिवसीय खेलेका छन्, जसमा उनले ५ विकेट लिएका छन् । रणजी ट्रफीमा विभिन्न टोलीलाई प्रशिक्षित गरेका उनी केरला क्रिकेट एकेडेमीका पूर्व निर्देशक पनि हुन् । गुलबदिन नाइब र डार्सी शोर्ट जस्ता विदेशीहरू भएको यो टोलीमा योहान्नानले ‘गत सिजनबाट सिकेर प्लेअफ पुग्ने र उपाधि नै जित्ने लक्ष्य रहेको बताएका छन् ।
यो संस्करणले युवा खेलाडीहरूलाई प्लेटफर्म दिनुका साथै नेपाली क्रिकेटलाई विश्व स्तरमा चिनाउने छ ।





























प्रतिक्रिया