काठमाडाैं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको च्याम्पियन बन्ने दौडमा रहेको सुदूरपश्चिम रोयल्सले प्लेअफका लागि ३९ वर्षीय भारतीय क्रिकेटर शेल्डन ज्याकसन र पाकिस्तानी मुलका खेलाडी मुख्तर अहमदलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमबाट लिग चरण खेलेका दुई अस्ट्रेलियन खेलाडी क्रिस लीन र जोश ब्राउन बिदा भएपछि टोलीले ज्याक्सन र अहमदलाई भित्र्याएको हो । क्रिस लिन इन्जुरीका कारण खेल्न नसक्ने भएका हुन् भने ब्राउन बिग बाश लिग खेल्न गएका हुन् ।
सुदूरपश्चिमको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । ७५ रन बनाएर उनी म्यान अफ दी म्याच त घोषित भए । तर उनले बिराटनगर किङ्सविरूद्ध भने समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएका हुन् । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएपछि ज्याक्सन र अहमदलाई भित्र्याइएको हो ।
ज्याक्सन ७,००० भन्दा बढी फस्र्ट–क्लास रन, एक टी–२० शतक र आईपीएलको महत्त्वपूर्ण अनुभव सम्हालेका खेलाडी हुन् । ज्याक्सनले मुम्बईमा जुनियर क्रिकेट खेल्थे । उनलाई पहिलोपटक कोलकाता नाइट राइडर्सको छनोट ट्रायल्सका क्रममा पूर्व बंगाल खेलाडी जोयदीप मुखर्जीले स्पट गरेका थिए । सन् २००९ मा कोलकत्ताले उनलाई टिममा अनुबन्धन गर्यो । स्टेट लेभलमा सौराष्ट्रका लागि लगातार तीन वर्षसम्म टोलीमा स्थान पाउन संघर्ष गरे पनि अन्ततः उनले सन् २०११ मा डिसेम्बरमा डेब्यू गरेका थिए ।
सौराष्ट्रलाई इतिहासमै पहिलोपटक रणजी ट्रफीको फाइनलमा पु¥याउन ज्याकसनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०१२–१३ को रणजी ट्रफी सिजनमा, उनले चार अर्धशतक र तीन शतक बनाए । ज्याक्सनले क्वार्टर–फाइनलमा कर्नाटक र सेमिफाइनलमा पंजाबविरुद्ध लगातार दुई शतक पनि प्रहार गरेका थिए । उनका ती उत्कृष्ट प्रदर्शनहरूले सौराष्ट्रलाई इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मद्दत गरेको थियो । २०१५–१६ मा, सौराष्ट्रलाई दोस्रोपटक रणजी ट्रफी जित्ने अभियानमा पनि उनी महत्त्वपूर्ण हिस्सा रहे । त्यसपछिको इरानी कपमा, उनको अविजित ५९ रनले रेस्ट अफ इन्डियालाई भारतीय फस्र्ट–क्लास क्रिकेट इतिहासको तेस्रो सबैभन्दा ठूलो सफल रन–चेस पूरा गराउन मद्दत गरेको थियो ।
यद्यपी आइपीएलमा भने उनी सफल हुन सकेनन् । २०१७ देखि २०२२ सम्म ९ म्याचमा अवसर पाउँदा कुल ६१ रन मात्रै जोडेका छन् ।
ज्याक्सन भरपर्दो ब्याट्सम्यान र उत्कृष्ट फिल्डर पनि हुन् । जसले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई महत्वपूर्ण साथ दिनसक्ने छन् ।
यसैगरी पाकिस्तानी मुलका ३२ वर्षीय अहमद पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । टप अर्डरमा ब्याटिङ गर्ने अहमदले पाकिस्तानको राष्ट्रिय टिम र पाकिस्तान ए बाट पनि खेलेका छन् । उनीसँग ६ टी२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ, जसमा ३२ को औसतमा दुई अर्धशतकसहित १९२ रन जोडेका छन् ।
साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम यसपटक उपाधिको बलियो दाबेदार टोली हो । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार छ खेल जितेको थियो । शनिबार भएको अन्तिम खेलमा भने विराटनगर किङ्ससँग पराजित भएको हो । योसँगै सुदूरपश्चिम छ खेल जित्ने एकमात्र टोली बनेको छ । सुदूरपश्चिमले जितेका हरेक खेलमा नयाँनयाँ खेलाडी ‘म्याच विनर’ बनेका छन् । त्यसकारण पनि सुदूरपश्चिम एक खेलाडीमा मात्र निर्भर छैन । विदेशीसँगै नेपाली खेलाडी पनि चम्किएका छन् ।
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले मंगलबार विराटनगर किंग्सबिच खेल्दैछ । यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । टोलीले काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबिच खेलिने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । गत सिजन पनि टोली लिग चरणपछि शीर्ष स्थानमा रहेको थियो । टोलीले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थानमा बनाएको थियो । तर, फाइनलमा जनकपुरले टोलीलाई स्तब्ध बनाउँदै उपाधि हात पारेको थियो । यो विगतलाई सुदूरपश्चिम दोहोरिन नदिने मुडमा छ । त्यसकारण पनि योपटक सुदूरपश्चिम जसरी पनि उपाधि उचाल्ने दाउमा विदेशी खेलाडी भित्र्याउने कामलाई निरन्तरता दिएको हो ।





























प्रतिक्रिया