काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले २०२५ चीन नू जियांग वाइल्डवाटर क्यानोइङ्ग एसियन च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाल क्यानो तथा कयाक टोलीलाई एक विशेष कार्यक्रमका साथ बिदाइ गरेका छन् । कमिटीको कार्यालयमा आयोजित उक्त कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिइएको थियो।
चीनको युनान प्रान्तस्थित नू जियांग स्वायत्त प्रिफेक्चरमा २०२५ डिसेम्बर १६ देखि २२ सम्म हुने उक्त च्याम्पियनसिपको आयोजना चाइनिज क्यानो एसोसिएसनले गरेको हो।
बिदाइ कार्यक्रममा बोल्दै कमिटीका अध्यक्ष श्रेष्ठले खेलाडी तथा पदाधिकारीहरूलाई आत्मविश्वास, अनुशासन र खेल भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको गौरव बढाउन प्रोत्साहित गरे । उनले टोलीको तयारीप्रति विश्वास व्यक्त गर्दै क्यानोइङ्ग र कयाकिङ्गको विकासका लागि यस्ता अन्तर्राष्ट्रिय अनुभवको महत्त्वमा जोड दिए ।
नेपाल ओलम्पिक कमिटीका महासचिवसमेत रहेका तथा नेपाल राफ्टिङ तथा क्यानोइङ्ग एसोसिएसनका अध्यक्ष श्रेष्ठले पनि टोलीलाई सफलताको शुभकामना दिएका थिए ।
नेपाली टोलीमा समावेश पदाधिकारी तथा खेलाडीहरू:
पदाधिकारी: सूर्य प्रसाद जोशी, महेश थापा
खेलाडी: कृष्ण खड्का, रञ्जन कडेल
बिदाइ समारोहमा नेपाल राफ्टिङ तथा क्यानोइङ्ग एसोसिएसनका महासचिव सुदीप राज गौतमको पनि उपस्थिति रहेको थियो।





























प्रतिक्रिया