बर्दिबास (महोत्तरी) । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ स्थानभित्र पर्ने खेलाडीहरू पुरस्कारको हकदार बन्नेछन् ।
नेपाल नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ प्रमुख दाबेदारका रूपमा रहेका छन् । साथै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दाबेदारको सूचीमा छन् ।
तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । जहाँ ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलको सामप्तीपछि कट लागु हुनेछ । शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।
मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको कुनैपनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। नवनिर्मित यो गल्फ क्लबमा पहिलो पटक प्रो खेलाडीहरू प्रतिस्पर्धामा उत्रदैछन् । नयाँ गल्फ कोर्समा खेल्ने चुनौती खेलाडीहरूलाई रहनेछ । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसको कुल पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ ।
यसअघि भएको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर खेलाडी राहुल विश्वकर्मा र दोस्रो प्रतियोगीता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका थिए ।





























प्रतिक्रिया