प्याट कमिन्स, स्टिभ स्मिथ टी-२० विश्वकपबाट बाहिरिए

प्याट कमिन्स, स्टिभ स्मिथ टी-२० विश्वकपबाट बाहिरिए

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स ढाडको चोटका कारण आगामी आइसीसी टी-२० विश्वकपबाट बाहिरिएका छन्।

निकै समयदेखि निको हुन नसकेको चोटका कारण उनी खेल्न नसक्ने भएपछि उनको स्थानमा देब्रे हाते तीव्र गतिका बलर बेन ड्वारसुआइसलाई टोलीमा छनोट गरिएको छ।

मुख्य छनोटकर्ता टोनी डोडेमेडले शनिबार यसबारे जानकारी दिँदै भने, “कमिन्सलाई निको हुन थप समय लाग्ने देखिएपछि हामीले बेनलाई रोजेका हौँ। उनीसँग बल स्विङ गर्ने क्षमता, उत्कृष्ट फिल्डिङ र तल्लो क्रममा ब्याटिङ गर्ने खुबी छ।”

यसैगरी म्याथ्यू सर्टको स्थानमा म्याट रेनशॉलाई टोलीमा राखिएको छ। श्रीलंकाको स्पिन अनुकूल पिचलाई ध्यानमा राख्दै देब्रे हाते ब्याट्सम्यान रेनशॉलाई मौका दिइएको हो।

साथै बिग ब्याश लिगमा उत्कृष्ट फर्ममा रहे पनि भेट्रान ब्याट्सम्यान स्टिभ स्मिथले यसपटक विश्वकप टोलीमा स्थान बनाउन सकेनन्। अष्ट्रेलियाली टोलीको नेतृत्व मिचेल मार्शले गर्नेछन्। टोली हाल तयारीका लागि पाकिस्तानमा टी-२० सिरिज खेलिरहेको छ।

अष्ट्रेलियाले आफ्नो विश्वकप अभियानको पहिलो खेल आगामी फेब्रुअरी ११ मा श्रीलंकाको कोलम्बोमा आयरल्याण्ड विरुद्ध खेल्दै सुरु गर्नेछ। यो विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ।

अष्ट्रेलियाको टोली:
मिचेल मार्श (कप्तान), ट्राभिस हेड, जेभियर बार्टलेट, जोश हेजलवुड, कूपर कोनोली, जोश इंग्लिस, टिम डेभिड, म्याथ्यू कुनेम्यान, बेन ड्वारसुआइस, ग्लेन म्याक्सवेल, क्यामरून ग्रीन, म्याट रेनशॉ, नाथन एलिस, मार्कस स्टोइनिस र एडम जाम्पा।

Logo