काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६मा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा आज भएको पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो । नेपाल विश्व च्याम्पियनमाथि ऐतिहासिक जित दर्ताबाट चुकेको छ ।
जितको नजिक पुगेर पनि अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा नेपालले ऐतिहासिक जित निकाल्ने सुनौलो अवसर गुमाएको हो।
इंग्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो। नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, अन्त्यतिर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै मात्र २० बलमा ३९ रन जोडेर खेललाई अन्तिम बलसम्म रोमाञ्चक बनाएका थिए।
कप्तान रोहित पौडेलले ३९ रन र ओपनर कुशल भुर्तेलले २९ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्।
इंग्ल्यान्डका लागि लियाम डसनले किफायती बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। साम करन, जोफ्रा आर्चर र ल्यूक उडले समान १–१ विकेट लिए। इंग्ल्यान्डले १० अतिरिक्त रन दिए तापनि नेपालले अन्तिम ओभरमा तीब्र गतिमा रन बटुल्न नसक्दा नतिजा इंग्ल्यान्डको पक्षमा गयो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियाे । इङ्गल्याण्डको सुरुवात केही धर्मराए पनि मध्यक्रमका ब्याटरहरूले पारी सम्हालेका थिए । प्रारम्भिक ब्याटर फिल साल्ट मात्र १ रनमा आउट भए भने कप्तान जोस बटलर २६ रनमा नन्दन यादवको शिकार बने। त्यसपछि ज्याकोब बेथेल र ह्यारी ब्रुकले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। बेथेलले ३५ बलमा ५५ रन बनाए भने कप्तान ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए।
अन्त्यमा विल ज्याक्सले १८ बलमा ३८ रनको अविजित पारी खेल्दै टोलीलाई १८० को आँकडा पार गराए ।
नेपालका लागि डेब्यु खेलाडी नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए। उनले इङ्गल्याण्डका कप्तान जोस बट्लर र ह्यारी ब्रुक जस्ता ठूला विकेट चट्काए। दिपेन्द्र सिंह ऐरीने पनि २ विकेट लिँदा नेपालका लागि शेर मल्लले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बलमै फिल साल्टको विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका थिए।
सन्दीप लामिछानेले ४ ओभरमा मात्र २५ रन खर्चेर एक विकेट लिए ।
अन्तिम ओभरमा करण केसीले जोफ्रा आर्चरलाई रनआउट गरे पनि विल ज्याक्सले छक्का प्रहार गर्दै स्कोर १८४ पुर्याए।





























प्रतिक्रिया