लन्डन । म्यानचेस्टर युनाइटेडका सर्वाधिक गोलकर्ता वेन रुनीले क्लबका एक चर्चित प्रशंसक फ्रान्क इलेटको कडा आलोचना गरेका छन्।
युनाइटेडले लगातार पाँच खेल नजितेसम्म कपाल नकाट्ने कसम खाएका इलेटका कारण टोलीको सामूहिक प्रदर्शनभन्दा व्यक्तिगत चर्चा बढी भएको भन्दै रुनीले असन्तुष्टि व्यक्त गरेका हुन्।
‘दि युनाइटेड स्ट्र्यान्ड’नामले सामाजिक सञ्जालमा चर्चित इलेटले युनाइटेडको खराब लयका बीच यो अनौठो प्रण गरेका थिए । उनले कपाल नकाटेको करिब ५०० दिन भइसकेको छ।
रुबेन अमोरिमलाई बर्खास्त गरेपछि म्यानचेस्टर युनाइटेडले सिजनको अन्त्यसम्मका लागि माइकल क्यारिकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्यारिकको नेतृत्वमा युनाइटेडले सानदार पुनरागमन गर्दै म्यानचेस्टर सिटी, आर्सनल, फुलहम र स्पर्स जस्ता बलिया टोलीहरूलाई लगातार चार खेलमा पराजित गरेको थियो।
लगातार पाँचौं जित हात पारेमा इलेटले कपाल काट्न पाउने थिए, जसले गर्दा विश्वभरका सञ्चारमाध्यमको ध्यान उनीतिर मोडिएको थियो। यही विषयले युनाइटेड लेजेन्ड रुनीलाई चिढ्याएको हो।
“म त उसलाई देशको अर्को छेउमा धपाउँथेँ, उसले मेरो दिमाग खराब गरिसक्यो,” रुनीले सञ्चारमाध्यमसँग भने, “मलाई लाग्छ यदि युनाइटेडले पाँचौं खेल जितेको भए ऊ नै सबैभन्दा दुखी हुने थियो, किनकि अचानक उसको चर्चा समाप्त हुने थियो र ऊ अप्रासंगिक बन्ने थियो।”
पाँचौं जितको खोजीमा रहेको युनाइटेडले हिजो वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ। रेलिगेसन जोनको नजिक रहेको वेस्ट ह्यामका लागि टोमास सौचेकले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा बेन्जामिन शेस्कोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।
यो बराबरीसँगै इलेटको कपाल काट्ने योजना केही समयका लागि धकेलिएको छ। खेलअघि उनी स्पेनी डिफेन्डर जेरार्ड पिकेसँग पनि देखिएका थिए।





























प्रतिक्रिया