काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत जिम्बाब्वेले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध ऐतिहासिक जित निकालेकाे छ । जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले स्तब्ध पारेकाे हाे । कोलम्बोको आर. प्रेमादासा रंगशालामा भएकाे रोमाञ्चक खेलमा जिम्बाब्वेले दिएकाे १७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमै समेटियाे ।
अष्ट्रेलिया जिम्बाब्वेको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु टिक्न सकेन। अष्ट्रेलिया १९.३ ओभरमा मात्र १४६ रनमा अलआउट भयो। अष्ट्रेलियाका लागि म्यात रेनशाले सर्वाधिक ६५ रन बनाए । ग्लेन म्याक्सवेलले ३१ रन जोडे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
जिम्बाब्वेका बलर ब्लेसिङ मुजाराबानीले यसै खेलमार्फत आफ्नो १००औँ टी–२० अन्तर्राष्ट्रिय विकेट समेत पूरा गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै १६९ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
जिम्बाब्वेका लागि प्रारम्भिक ब्याटर ब्रायन बेनेटले उत्कृष्ट प्रदर्शन गर्दै ६४ रनको अविजित अर्धशतकीय इनिङ्स खेले। उनलाई तादिवानाशे मारुमानी र रायन बर्लले समान ३५–३५ रन जोडेर बलियो साथ दिए। अन्त्यमा जब सिकन्दर राजा क्रिजमा आए, खेलको गति तब बदलियो । राजाले मात्र १३ बलमा १९२ को स्ट्राइक रेटमा २५ रन प्रहार गरेपछि जिम्बाब्वेले अष्ट्रेलियासामु १६९ रनको बलियो लक्ष्य राखेको थियो।
अष्ट्रेलियाका प्रमुख बलरहरू एडम जाम्पा र नाथन एलिस विकेटविहीन रहनु अष्ट्रेलियाका लागि घातक सावित भयो।





























प्रतिक्रिया