काठमाडाैं । आईसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा इंग्ल्याण्डले आयोजक श्रीलङ्कालाई ५१ रनको भारी अन्तरले पराजित गरेको छ।
पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६.४ ओभरमा मात्र ९५ रनमा समेटियो। इंग्ल्याण्डको कसिलो बलिङसामु श्रीलङ्काको ब्याटिङ लाइनअप ध्वस्त भएकाे हाे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। सुरुवाती ब्याट्सम्यान फिल साल्टले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६२ रनको शानदार अर्धशतकीय इनिङ्स खेले। अन्य ब्याट्सम्यानहरूले ठूलो स्कोर बनाउन नसके पनि विल ज्याक्सले १४ बलमा २१ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याउन मद्दत गरे।
श्रीलङ्काका लागि दुनिथ भेलालागेले कसिलो बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए भने महीश थिक्सना र दिलशान मदुशंकाले समान २-२ विकेट हात पारे।
१४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का सुरुवातदेखि नै दबाबमा देखियो। इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले दोस्रो ओभरमै स्पिनर विल ज्याक्सलाई बलिङमा उतार्ने साहसिक निर्णय लिए, जुन खेलको ‘टर्निङ पोइन्ट’ बन्यो। ज्याक्सले पावरप्लेभित्रै तीन महत्त्वपूर्ण विकेट लिँदै श्रीलङ्काको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।
श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले सर्वाधिक ३० रन बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। अन्ततः श्रीलङ्का १६.४ ओभरमा मात्र ९५ रनमा अलआउट भयो।
इंग्ल्याण्डका लागि विल ज्याक्सले २२ रन खर्चेर ३ विकेट लिए भने जोफ्रा आर्चर, आदिल राशिद र लियाम डसनले समान २-२ विकेट लिए।





























प्रतिक्रिया