नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्य सुरु 

नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्य सुरु 

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । लामो समयदेखि जिर्ण रहेको नारायणी रंगशालाको बिहीबारदेखि प्याराफिटको पुन निर्माण कार्य सुरु भएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र भर्खरै सम्पन्न भएको निर्वाचनको कारण काम केहि ढिलो गरेर सुरु भएको हो । 

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन् । यहाँका खेलप्रेमी र खेलाडीहरुले रंगशाला मर्मत तथा पुर्न निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमुलक आन्दोलन पनि गर्दै आएका थिए ।

संघीय र प्रदेश संसद बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक पटक आवाज पनि उठाउँदै आएका थिए ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए । यो रंगशलामा करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको थियो । तर मर्मत सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन ।

Logo