काठमाडाैं । दक्षिण अफ्रिकाले न्युजिल्याण्ड विरुद्धको पाँच खेलको टी-२० शृङ्खलामा विजयी सुरुवात गरेको छ। आइतबार माउन्ट माउगनुईस्थित बे ओभलमा भएको पहिलो खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्याण्डलाई ७ विकेटले सहजै पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डको पारी दक्षिण अफ्रिकी बलरहरूको घातक बलिङसामु टिक्न सकेन। न्युजिल्याण्डले १४.३ ओभरमा मात्र ९१ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो। घरेलु टोलीका लागि जेम्स नीशमले सर्वाधिक २६ रन बनाए भने कोल म्याकोन्ची र मिचेल सान्टनरले समान १५-१५ रन जोडे।
अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका १९ वर्षीय डेब्यु खेलाडी नकोबानी मोकोएनाले घातक बलिङ गर्दै ३.३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। उनलाई साथ दिने क्रममा जेराल्ड कोएत्जी र ओट्नील बार्टम्यानले समान २-२ विकेट झारे।
९२ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाको जितमा डेब्यु ब्याटर कनर एस्टरहुइजेनले धैर्यपूर्ण ब्याटिङ गर्दै ४८ बलमा अविजित ४५ रनको योगदान दिए। त्यस्तै डियान फरेस्टरले १६ रन बनाए। न्युजिल्याण्डका लागि मिचेल सान्टनर, जाकारी फाउल्क्स र काइल ज्यामिसनले १-१ विकेट लिए।
यो जितसँगै दक्षिण अफ्रिकाले शृङ्खलामा १-० को अग्रता बनाएको छ।





























प्रतिक्रिया