पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौँ प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । प्रोफेसनल गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, भुबहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन–पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे ।
१–ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौँ, २–ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौँ र र ३–ओभर ७२ सहित भुवनकुमार रोक्का आठौँ स्थानमा रहेका छन् । ४–ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीपकुमार लामाले संयुक्त रूपमा नवौं स्थान बाँडे ।
हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । पहिलो, तेस्रो, छैटौँ र सातौँ होलमा बोगी खेपेका उनले पाँचौँ र नवौँ होलमा एक–एक सट बचाए । ब्याक नाइनमा सम्हालिँदै २–अन्डर ३३ खेले । १५औँ होलमा एक सट खेर फाल्दा १०औँ, १४औँ र १७औँ होलमा बर्डी प्रहार गरे ।

पछिल्ला दुई प्रतियोगिता जितेका भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाउने क्रममा पहिलो नौ होलमा पार जोगाए । ब्याक नाइन पनि इभन–पार ३५ खेले । १०औँ र १३औँ होलमा बर्डी प्रहार गर्दा ११औँ र १२औँ होलमा बोगी खेपे । उनले कुल १४ वटा होलमा पार जोगाए ।
पोखराका घरेलु गल्फर भुबहादुरले पनि फ्रन्ट नाइन इभन–पार ३४ र ब्याक नाइन इभन–पार ३५ मा सकाए । उनले तेस्रो होलमा बर्डी र सातौँ होलमा बोगी खेपे । यसपछि १२औँ र १६औँ होलमा बोगी खेप्दा १०औँ र १५औँ मा बर्डी प्रहार गरे ।
जयरामले बोगीबाट दिनको सुरूवात गरे र पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए । यसपछि १६औँ होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाउँदै ब्याक नाइन १–ओभर ३६ मा सकाए ।
एमेच्योर राहुलले फ्रन्ट नाइन इभन–पार ३४ र ब्याक नाइन इभन–पार ३५ मा पुरा गरे । पहिलो र १७औँ होलमा एक–एक सट बचाउँदा नवौँ र दशौँ होलमा बोगी खेले । एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए । प्रज्वल गुरूङ ५–ओभर ७४ सहित दोस्रो स्थानमा रहेका छन् । ८–ओभर ७७ खेलेका कवि थापा तेस्रो स्थानमा रहेका छन् ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए)द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तिपछि कट लागु हुनेछ । १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले एक लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः एक लाख २५ हजार र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबारको प्रो–एम इभेन्टसँगै प्रतियोगिता समाप्त हुनेछ ।
एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, “हामी लगातार २६औँ वर्ष यो प्रतियोगिता आयोजना गर्न पाउँदा अत्यन्त खुसी छौँ । निरन्तर सहयोगका लागि प्रायोजक सूर्य नेपाल प्रालिप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । प्रोफेसनल र एमेच्योर दुवै खेलाडीहरूले रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन गर्नेमा म विश्वस्त छु ।”





























प्रतिक्रिया