काठमाडौं । ला लिगाको उपाधि दौडमा अग्रस्थानमा रहेको बार्सिलोनाले छिमेकी प्रतिद्वन्द्वी एस्पानियोललाई क्याटलान डर्बीमा ४–१ को फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो पकड अझ मजबुत बनाएको छ । यो जितसँगै ह्यान्सी फ्लिकको टोलीले दोस्रो स्थानको रियल मड्रिडभन्दा ९ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।
खेलको सुरुवाती ९औं मिनेटमै बार्सिलोनाले अग्रता लिएको थियो । लामिन यमलको उत्कृष्ट कर्नरमा फेरान टोरेसले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । २५औं मिनेटमा यमलको सटिक पासमा गोलकिपर मार्को इमिट्रोभिचलाई बिट गर्दै टोरेसले व्यक्तिगत दोस्रो गोल थपे । त्यसैगरी १८ वर्ष २७२ दिनको उमेरमा यमल बार्सिलोनाका लागि १००औं खेल खेल्ने सबैभन्दा कान्छो खेलाडी बने । उनले यो ऐतिहासिक खेलमा दुई असिस्ट मात्र दिएनन्, अन्त्यतिर खाली पोस्टमा गोल गरेर आफ्नो प्रदर्शनलाई अझ चम्काएका थिए ।
पहिलो हाफमा पूर्ण दबाबमा रहेको एस्पानियोलले दोस्रो हाफमा केही डिफेन्सिभ खेलेता पनि ५६औं मिनेटमा पोल लोजानोले गोल गर्दै स्कोर २–१ मा झार्यो तर, बार्सिलोनाको आक्रमण रोक्न सकेन । अन्तिम १० मिनेटमा टोलीले दुई मिनेटको अन्तरमा दुई गोल थप्यो । लिगमा अब सात खेल बाँकी रहँदा बार्सिलोन उपाधि जित्ने दिशामा निकै नजिक पुगेको छ ।
पराजित एस्पानियोल भने लगातार १४ खेल जितविहीन छ र लिग तालिकाको १०औं स्थानमा यथावत छ । बार्सिलोनाको ध्यान अब मंगलबार च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडविरुद्ध दोस्रो लेगमा केन्द्रित छ, जहाँ उसले दुई गोलको घाटा मेटाउनुपर्ने चुनौती सामना गर्नेछ ।





























प्रतिक्रिया