अम्पायरलाई पिट्यो भने कति खेलमा ब्यान भोगिन्छ भन्ने कमेन्ट विवादित भएपछि करण केसीले मागे माफी

अम्पायरलाई पिट्यो भने कति खेलमा ब्यान भोगिन्छ भन्ने कमेन्ट विवादित भएपछि करण केसीले मागे माफी

केन्द्रबिन्दु
156
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले अम्पायरविरुद्ध ‘मजाक’का रूपमा गरेको कमेन्टप्रति माफी मागेका छन् । शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले “कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु” भनेका छन् ।

करणले ‘ट्रोल क्रिकेट नेपाल’ फेसबुक पेजमा सन्दीप लामिछाने र अम्पायरबीचको विवादमा कमेन्ट गर्दै लेखेका थिए, “यदि कुनै पनि खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारीको लागि ? खेलाडीको ज्ञान र सुरक्षाका लागि ।” सोही कमेन्टलाई लिएर नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघ (कुसान) ले नेपाल क्रिकेट संघ (क्यान)सँग कारबाही माग गरेको थियो ।

अपोलोजी पोस्टमा करणले “अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो छौं । यदि खेलाडी र अम्पायरबीच हातपात भए के हुन्छ होला ? भनेर मजाकको रूपमा जिज्ञासा राखेको थिएँ ।” उनले उक्त अभिव्यक्तिले कसैलाई चोट पु¥याएको भए माफी मागेका छन् ।

यो विवाद शुक्रबार प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत बागमती प्रदेश र मधेश प्रदेशबीचको खेलमा उत्पन्न भएको थियो । बागमतीका बलर प्रतिश जिसीले मधेशका मोहम्मद आदिल आलमविरुद्ध एलबीडब्लू अपिल गरेका थिए ।

अम्पायरले नट आउट दिएपछि बागमतीका कप्तान सन्दीप लामिछाने र अम्पायरबीच लामो विवाद हुँदा मैदानमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । कुसानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै करणको कमेन्टप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको जनाएको थियो । संघले यस्तो कार्य ‘निन्दनीय’ रहेको भन्दै घोर भत्र्सना गरेको थियो र क्यानसँग तत्काल कारबाहीको माग गरेको थियो ।

करणको माफीसँगै उक्त घटनाले नेपाली क्रिकेटमा खेलाडी–अम्पायर सम्बन्ध र सोसल मिडियाको जिम्मेवारीबारे पुनः बहस सुरु गरेको छ ।

Skip This
Skip This
Logo