म्याराडोनाको मृत्यु प्रकरणमा चिकित्सकमाथि पुनः सुनुवाइ सुरु, आरोप पुष्टि भए २५ वर्षसम्म कैद सजाय हुने

म्याराडोनाको मृत्यु प्रकरणमा चिकित्सकमाथि पुनः सुनुवाइ सुरु, आरोप पुष्टि भए २५ वर्षसम्म कैद सजाय हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अर्जेन्टिनाको सान इसिड्रो अदालतमा फुटबल भिनभलम डिएगो आर्मान्डो म्याराडोनाको मृत्यु प्रकरणमा सात जना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पुनः सुनुवाइ सुरु भएको छ । गत वर्ष प्राविधिक कारणले स्थगित भएको यो मुद्दा मंगलबारदेखि नयाँ न्यायाधीशहरूको टोलीले हेर्न थालेको हो ।

सन् २०२० नोभेम्बर २५ का दिन ६० वर्षको उमेरमा हृदयाघातबाट निधन भएका म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा सात चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध ‘लापरबाहीपूर्ण हत्या’को मुद्दा चलाइएको छ । यदि दोषी ठहरिएमा प्रत्येकलाई कम्तिमा ८ देखि २५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

मस्तिष्कको शल्यक्रियापछि घरमै आराम गरिरहेका बेला म्याराडोनाको निधन भएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार, अभियुक्तहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको थाहा हुँदाहुँदै पनि ज्यान बचाउन आवश्यक चिकित्सकीय कदम नचालेको आरोप छ । मेडिकल विज्ञहरूको विशेष प्यानलले घरेलु उपचारलाई ‘अपूर्ण र लापरबाहीपूर्ण’ ठहर गर्दै उपयुक्त अस्पतालमा राखेर उपचार गरिएको भए म्याराडोना बाँच्न सकिने सम्भावना रहेको निष्कर्ष निकालेको थियो ।

मुद्दा खेपिरहेका सात जनामा म्याराडोनाका मुख्य चिकित्सा सल्लाहकार लियोपोल्डो लुके र मनोचिकित्सक अगस्टिना कोसाचोभ प्रमुख छन् । एक नर्सको भने छुट्टै सुनुवाइ हुनेछ । जुलाई महिनासम्म चल्ने अनुमानित यो सुनुवाइमा म्याराडोनाका छोरीहरूलगायत करिब २०० जनाले बकपत्र दिनेछन् । गत मे महिनामा एक न्यायाधीशले डकुमेन्ट्रीका लागि अदालतभित्र अनधिकृत छायाङ्कन गर्न अनुमति दिएको भन्दै राजीनामा दिएपछि पहिलो सुनुवाइ रद्द भएको थियो ।

म्याराडोनाको निधन हुँदा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक मनाएको थियो । अर्जेन्टिनोस जुनियर्सबाट व्यावसायिक फुटबल सुरु गरेका उनले सन् १९८६ को विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए । इङ्ल्यान्डविरुद्धको ‘ह्यान्ड अफ गड’ गोल उक्त प्रतियोगिताको सबैभन्दा चर्चित क्षण बनेको थियो ।

लागुऔषध दुव्र्यसन र प्रतिबन्धका कारण करियरको उत्तरार्ध प्रभावित भए पनि उनले सन् १९९७ मा फुटबलबाट औपचारिक संन्यास लिएका थिए । त्यसपछि अर्जेन्टिना राष्ट्रिय टोलीसहित विभिन्न क्लबहरूको प्रशिक्षण सम्हालेका थिए ।

Logo