काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार जारी संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाहुना टोली यूएईलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमा समेटेको छ।
यूएईका लागि मध्यक्रमका ब्याटर अक्षदीप नाथले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ४२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीको इनिङ्स उकासेका थिए। त्यस्तै मुहम्मद अर्फानले ३२ रन र अदिव उस्मानीले ३० रन जोडे पनि अन्य ब्याटरहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
यूएईका कप्तान मुहम्मद वासिम खेलको पहिलो बलमै हेमन्त धामीको शिकार भएर शून्य रनमा पेभिलियन फर्किएका थिए।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा १ मेडन सहित मात्र ६ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर हेमन्त धामीले २ विकेट झार्दा शाहब आलम र नन्दन यादवको नाममा १–१ विकेट रह्यो।
पहिलो खेलमा हार बेहोरेको नेपालका लागि सिरिज बराबरी गर्न यो खेल जित्नै पर्ने दबाब रहेको छ। सन्तोष यादवले यसै खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।





























प्रतिक्रिया