काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको घरेलु सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ३७ रनले विजयी भएको हो ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो। यूएईका लागि हरप्रीत सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने कप्तान मुहम्मद वसीमले ३४ रन जोडे। अक्षदीप नाथले ३० रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
नेपालका बलरमध्ये करण केसी सर्वाधिक सफल रहे। उनले ९ दशमलव २ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा २५ रन दिएर २ विकेट लिए भने सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर २ विकेट हात पारे।
नेपाल २१ खेलमा ६ मा जित, १३ मा हार र दुई खेलमा नतिजाविहीन हुँदै १४ अङ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । युएई १० अङ्कका साथ अन्तिम स्थानमा छ । प्रतियोगितामा आठ टोली सहभागी छन् ।
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको यूएईले नेपाललाई मध्यम योगफलमा रोक्न सफल भएकाे थियाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टोलीको इनिङ्स सम्हाले। कुशल भुर्तेलले २४ रन, करण केसीले २२ रन तथा बसिर अहमदले २० रनको योगदान दिए। अन्य ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्।
नेपालले सुरुआतमै विकेट गुमाएको थियो। आसिफ शेख ७ रन, भीम सार्की १० रन, कप्तान रोहित पौडेल २ रनमा आउट भए। त्यसपछि मध्यक्रममा पनि नियमित अन्तरालमा विकेट झर्दा नेपाल दबाबमा परेको थियो। अन्तिमतिर करण केसी र दीपेन्द्रसिंह ऐरीले केही प्रतिकार गर्दै टोलीलाई २०० रनसम्म पुर्याए।
यूएईका लागि अजय कुमारले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। जुनैद सिद्दिकी र खजुइमा तनवीरले समान २–२ विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले १–१ विकेट लिए।





























प्रतिक्रिया