काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीको पासपोर्ट रोक्का गरिएको छ ।
एन्फाभित्रको आर्थिक अनियमितताको छानबिनका लागि अध्यागमन विभागबाट सबै पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको हो । यसअघि, राखेपले मंगलबार बसेको कार्यकारी समितिको बैठकले निलम्बित एन्फाका पदाधिकारीहरूलाई फुटबलको अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि विदेश भ्रमण गर्न समेत रोक लगाउने र यस विषयमा गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
यो सम्पूर्ण प्रकरणको जड एन्फामाथि लागेको गम्भीर आर्थिक अनियमितताको आरोप हो । आर्थिक नियमावली, कार्यविधि र विधान विपरीत खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा, आयोगले खेलकुद मन्त्रालयमार्फत् राय मागेको थियो।
जवाफमा, राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको छ। समितिमा राखेपका लेखा अधिकृत टंकनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य छन्।





























प्रतिक्रिया