काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानमाथि २५ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
यूएईका लागि प्रारम्भिक ब्याटर अर्यांश शर्माले शतकीय इनिङ्स खेल्दै टोलीको जितको आधार तय गरे। उनले १२५ बलको सामना गर्दै १०५ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, अदिब उस्मानीले ६४ र हरप्रीत सिंह भाटियाले ५४ रनको योगदान दिँदै टोलीलाई बलियो स्थितिमा पुर्याए। ओमानका तर्फबाट बलिङमा फैसल शाहले ३ विकेट तथा बुक्कापटनम सिद्धार्थले २ विकेट लिए।
२६९ रनको लक्ष्य पछ्याएको ओमान ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २४३ रनमा समेटियो। ओमानका लागि विनायक शुक्लाले ५८ रनको अविजित इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। जतिन्दर सिंहले ४६ र आशिष ओडेदराले ३५ रन जोडे।
ओमानको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा यूएईका अजय कुमारले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले ९.५ ओभरमा मात्र ३५ रन खर्चेर महत्वपूर्ण ६ विकेट लिए।





























प्रतिक्रिया